सडक सेवा शुल्कको विरोध गर्दै राजमार्ग अवरुद्ध


सडक सेवा शुल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएबापत नगरपालिकाले कर लिन थालेपछि त्यसविरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरू आन्दोलनमा उत्रिएका हुन् । सडक अवरुद्ध हुँदा मध्याह्नदेखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।    
नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरूको भनाइ रहेको छ ।

ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरू आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु १०० सम्म असुल्न थालेपछि सवारीधनीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुपरेको बताएका छन् । 

 नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताउनुभयो । उहाँको संयोजकत्वमा सङ्घर्ष समितिसमेत गठन गरिएको जनाइएको छ । गत शुक्रबारसमेत सवारीधनीहरूले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।    

 नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताउनुभयो । उहाँले सडक अवरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गर्नुभयो ।    

(यो समाचार  गोरखापत्र अनलाइन ११ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links