निषेधाज्ञा खुल्दा लयमा फर्कियो सरकारको राजस्व संकलन

काठमाडौं। निषेधाज्ञा खुकुलो भएको केही दिनमै सरकारको राजस्व संकलन लयमा फर्किएको छ। देशका मुख्य शहरहरुमा लगाइएको निषेधाज्ञा खुकुलो भएपछि दैनिक डेढ अर्बको हाराहारीमा राजस्व संकलन भएको हो।

सरकारले कडा प्रकृतिको निषेधाज्ञा जारी गर्दा राजस्व संकलन अर्बभन्दा तल झरेको थियो। भदौ ३१ गतेसम्म १ खर्ब ३ अर्ब रहेको राजस्व संकलन १७ दिनमा बढेर १ खर्ब ३० अर्ब पुगेको छ। अर्थात १७ दिनमै राजस्व करिब २७  अर्बको हाराहारीमा संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ।

राजस्व संकलन गर्ने मुख्य सरकारी निकाय आन्तरिक राजस्व विभागले असोज महिनामा लक्ष्यको ३० प्रतिशत राजस्व संकलन गरिसकेको छ। यो महिना विभागले २५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा करिब ८ अर्ब राजस्व संकलन गरिसकेको छ। महिनाको २५ गतेसम्म धेरै राजस्व उठ्ने समय भएकफले विभागले यो महिनाको राजस्व लक्ष्य पूरा हुने विश्वास लिएको छ। बजारमा वस्तु तथा सामाग्रीको बिक्री बढ्दा मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा उल्लेख्य वृद्धि भइरहको छ।

मदिरा बजार खस्किदा भने त्यसबाट हुने गरेको अन्तःशुल्क संकलनमा भने क्रमशः गिरावट आइरहेको छ। विभाग स्रोतका अनुसार दसैंको मुखमा पनि मदिरा व्यवसायीहरुले आफ्ना उत्पादन बजारमा पठाउन सकेका छैनन्। विभाग स्रोतले भन्यो 'सामान्य अवस्थामा दसैंको महिनामा धेरै उत्पादन बजार पठाउने गर्थेँ, तर यो वर्ष व्यावसायीहरुले थोरै परिमाणमा मात्रै उत्पादन बजार पठाएका छन्।' 

होटल रेष्टुरेन्ट मेला उत्सव नहुँदा मदिरा व्यवसाय निरन्तर ओरालो लागिरहेको छ। विभागले असोजको १७ दिनसम्म मासिक लक्ष्यको ३२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। 

४५ प्रतिशत करदाता सम्पर्कविहीन  

आन्तरिक राजस्व विभागमा दर्ता भएका करिब ५५ प्रतिशत करदाताले मात्रै नियमित कर तिरिरहेको विभागले जनाएको छ। कोरोना महामारी बीचमा सरकारले कर तिर्न दिएको छुट समय सकिए पनि करदाता सम्पर्कमा आएका छैनन्। यसरी कर विवरण नबुझाउनेहरुमा साना तथा मझौला उद्योगी छन्।

विभागका एक कर्मचारीले भने 'हाम्रो प्रणालीमा ४५ प्रतिशत करदाताहरु नियमित कर तिर्न आएका छैनन्, जसमा धेरैजसो बिक्री भइसकेका कम्पनीहरु छन्। यी कम्पनीहरुले समयमै कर विवरण नबुझाए अनिवार्य जरिवाना समेत लाग्नेछ।' कोरोना संक्रमण अघि नियमित रहेका करदाताहरु संक्रमण बढ्न सुरु भएपछि कर विवरण बुझाउन नआएको विभागले जनाएको छ। 
 

आयात यथावत

दसैं नजिकिदै आए पनि आयातमा भने सुधार देखिएको छैन। असोज महिनामा दैनिक ५ अर्ब हाराहारीमा मात्रै वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। सामान्य अवस्थामा समेत औषत ६ अर्बको आयात हुने वस्तुहरु दसैं आउन १५ दिन बाँकी हुँदा पनि आयात बढ्न नसकेको विभागका महानिर्देशक सुमन दाहालले बताए। उनले भने 'दसैं नजिकिदै आए पनि आयात बढ्न सकेको छैन। विशेषगरी नेपाली व्यवसायीले दसैं लक्षित गरी चिनियाँ नाकातर्फबाट ल्याएका सामाग्री रोकिदा आयातमा सुधार हुन सकेको छैन।'

उनका अनुसार हाल दैनिक भन्सार महसुलबाट दैनिक ८० देखि ८५ करोड राजस्व संकलन हुने गरेको छ। चालु वर्षको २ महिनाको आयातलाई गत वर्षको सोही अवधिसँग तुलना गर्दा करिब २२ प्रतिशतले आयातमा कमी आइसकेको छ। चालु वर्षमा व्यवसायीहरुले अधिक मात्रामा चिनी आयात गरेका छन्। चालु वर्षको २ महिनामै करिब २ अर्बभन्दा बढीको चिनी आयात भइसकेको छ।

यो वर्ष नाडा अटो शो नहुँदा सवारी आयातमा भने निकै कमी आएको छ। यस्तै सुन आयातमा पनि कमी देखिएको छ।

(यो समाचार  बिजमाण्डू १८ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links