सवारी साधन नामसारी नहुने, कर र इम्बोस्ड नम्वर प्लेटको राजस्व भने लिने

काठमाडौं । यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, बागमती प्रदेश ललितपुर कार्यालयले आज एक सूचना जारीगरि भोलि साउन २६ गतेबाट सवारी साधनको नामसारी लगायतका काम अर्को निर्णय नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

भोलिबाट यातायात कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बीलबुक नविकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्ने सेवा पाउने छन् । यी बाहेक अन्य कुनै किसिमको सेवा नपाउने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

‘हामीले जोखिम न्यूनिकरण गर्नै नसक्ने अवस्था आयो । हजारौं मानिसको लाइन लाग्ने अवस्था छ । यस्तो अवस्थामा कर्मचारीले काम गर्न नसक्ने भएकाले राजस्व संकलन बाहेकका सेवा रोक्नु परेको हो’, कार्यालय प्रमुख यादवप्रसाद आचार्याले भने ।

उनका अनुसार कोभिडको डर बढ्दै जान थालेकोले काम रोक्नु पर्दा सेवाग्राहीलाई अफ्ठेरो परेको भएपनि अहिलेको अवस्थामा सेवा संचालन गर्न कठिन भएकाले केही दिनलाई सेवा रोकिएको हो ।

‘प्रदेश सरकारले बिलबुक नविकरण, वार्षिक कर र इम्बोस्ड नम्बर प्लेटको राजस्व संकलन गर्ने काम जोर–बिजोर अनुसार गर्न भनेकाले हामीले त्यहि अनुसार सूचना निकालेका हौं’ आचार्यले भने ।

यसरी यातायात व्यवस्था कार्यालयले नामसारी लगायतका सेवा बन्द गर्ने सूचना प्रकाशित गरेसँगै अटोमोवाइल व्यवसायीहरु भने निरास बनेका छन् । बल्ल केही दिनदेखि गाडीका शोरुममा मानिसको आवत जावत बढेको थियो । अब यसरी कर लिने बाहेकका सबै सेवा बन्द भएपछि ग्राहक नै नआउने हुन् कि भन्ने चिन्ता व्यवसायीहरुमा रहेको पाइन्छ ।

तर, कार्यालय प्रमुख आचार्य कर उठाउने काउन्टर संचालन गर्नु पर्ने काम पनि सेवा नै भएको र करका विषयमा सरकारले थप निर्णय नगरेकाले बाध्य भएर यी सेवा खुल्ला राख्नु परेको तर्क गर्छन् ।

(यो समाचार  मेराेअटाे २५ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links