दोहोरो करको समस्या सम्बोधन गर


गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । दुई दिन चलेको महाधिवेशनपछि जारी घोषणापत्रमार्फत एनआरएनएले बाह्य लगानी आकर्षणको प्रमुख बाधकका रुपमा रहेको दोहोरो करको समस्यालाई सम्बोधन गरी लगानीको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
घोषणापत्रमा नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता गर्न पनि माग गरिएको छ । एनआरएनएले घोषणापत्र जारी गर्दै लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अविलम्ब गर्न नेपाल सरकारसँग आह्वान गरेको हो ।
सम्मेलनले कोभिड–१९ को विश्वव्यापी प्रकोप सुुरु हुनासाथ संसारभरबाट गैरआवासीय नेपालीहरुले अक्सिजन कन्सन्ट्रेटरलगायत अन्य स्वास्थ्य सामग्रीहरु नेपाल पठाएको स्मरण गराउँदै पुनः हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघले हाललाई कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशीला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न एनआरएन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरिएको जनाएको छ । घोषणापत्रमा गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नको लागि सरकारलाई आग्रह गरिएको छ ।
संघले जारी गरेको घोषणापत्रमा सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरु पूरा गर्ने, सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीनवटा महत्वाकांक्षी विकास लक्ष्यहरूसँग योगदान रहने उल्लेख छ ।
यसैगरी वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियमकानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरुलाई न्याय, उद्धार र क्षतिपूर्तिका सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गरिने भएको छ । कोभिड–१९ का कारण थला परेको नेपाली पर्यटन क्षेत्रलाई फेरी क्रियाशील तुल्याउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत संसारभर रहेका नेपाली कूटनीतिक नियोगहरुसँग सहकार्य गर्न संघका सम्पूर्ण एनसीसीहरुलाई आग्रह गरी आगामी २ महिनाभित्र एउटा कार्ययोजना बनाई सार्वजनिक गरिने भएको छ ।
‘गैरआवासीय नेपाली संघको प्रतिबद्धताः समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने मूल नारासहित सम्पन्न सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र, अर्थ, श्रम तथा रोजगार मन्त्रीहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

(यो समाचार  कारोबार दैनिक १४ चैत २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links