स्थानीय तहको कर क्षमता विश्लेषण गरिँदै


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारको कर क्षमता विश्लेषण गर्ने भएको छ । मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)ले चालू आर्थिक वर्ष २०७८-०७९ मा स्थानीय सरकारको कर क्षमताको अध्ययन परामर्शदातामार्फत गर्न लागेको हो ।
पीएलजीएसपीले स्थानीय तहको कर क्षमता विश्लेषण गर्नुको उद्देश्यमा स्थानीय तहको राजस्व सुधार कार्ययोजना तयार पार्नका लागि आवश्यक सूचना प्रवाह गर्ने र विद्यमान कर प्रणालीको समीक्षा गरी समस्या पहिचान गर्न, करदातालाई करको दायरामा ल्याउन नीतिगत, संस्थागत र व्यवस्थापकीय उपायको खोजी गर्ने उल्लेख गरेको छ । यस्तै कर ढाँँचा र प्रक्षेपित कर संकलन र व्यवस्थापन, मौजुदा जनशक्ति, संस्थागत व्यवस्था तथा उपयुक्त प्रविधिको आधारमा सूचकसहितको स्थानीय तहको कर क्षमता विश्लेषण ढाँचा तयार गर्नु पनि उक्त अध्ययनको उद्देश्य रहेको पीएलजीएसपीले जनाएको छ ।
स्थानीय तहलाई संविधानले प्रदान गरेका कार्य जिम्मेवारी पूरा गर्नुपर्ने दबाबमा छन् । आन्तरिक आम्दानी कमजोर हुँदा स्थानीय तहहरू वित्तीय हस्तान्तरणमा निर्भर छन् । संविधानले स्थानीय तहलाई २२ वटा विषय क्षेत्रसँग एकल कार्य जिम्मेवारी प्रदत्त गरेको छ । वित्तीय संघीयताको कार्यान्वयन स्थानीय तहमा पनि हुँदै आएको कार्यक्रम उल्लेख गर्छ, ‘संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न वित्तीय औजारको रूपमा स्थानीय करको माध्यमबाट विकास वित्त प्राप्त गर्न सक्ने अवस्था छ ।’
आर्थिक वर्ष २०७५-०७६ मा नै स्थानीय तहहरूको कुल आन्तरिक आम्दानी २६ अर्ब रूपैयाँ मात्र थियो । यसले स्थानीय तहलाई प्रदान गरिएका करहरूको पूर्ण उपयोग हुन सकेको नपाइएको कार्यक्रमले जनाएको छ । उता स्थानीय तहले पटकपटक करसम्बन्धी नीतिगत व्यवस्था, संगठन ढाँचा, जनशक्तिको क्षमता विकासलगायतका विषयमा पटकपटक समस्या रहेको बताउँदै आए पनि अहिलेसम्म पनि समाधान हुन सकेको छैन ।
पीएलजीएसपीले स्थानीय तहमा संविधान प्रदत्त राजस्व अधिकारको प्रयोग, कर अधिकारको प्रयोगका समस्याहरू र अन्य के कस्ता करहरुलाई स्थानीय करको रुपमा एकमुष्ठ रुपमा संकलन गर्न सकिन्छ भनेर पनि अध्ययन गर्न लागेको हो । यस्तै स्थानीय तहमा प्रगतिशील कर प्रणाली स्थापना गर्न पनि स्थानीय तहहरूले तिनको कर विश्लेषण गर्नुपर्ने कार्यक्रमले जनाएको छ । यसका लािग विश्लेषण गर्ने आधार वा ढाँचा तयार हुन सकेको खण्डमा आतरिक राजस्व वृद्धि हुनुको साथै करको प्रणाली स्थापना गर्न सहयोग पुग्ने कार्यक्रमले जनाएको छ ।
यस्तै पीएलजीएसपीले स्थानीय तहका कानुन, प्रतिवेदन लगायतका दस्तावेज एकीकृत गर्न पोर्टल निर्माण, उसकै वेबसाइट विकास र संघ, प्रदेश र स्थानीय तहका निकायको सूचना र प्रतिवेदन आदानप्रदानका लागि सञ्चालनमा रहेको मोफागा (संघीय मामिला मन्त्रालय) पोर्टललाई समेत अद्यावधिक गर्ने कार्यका लागि समेत ठेक्का आह्वान गरेको छ ।

(यो समाचार  कारोबार दैनिक १४ मंसिर २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links