अनलाइन विवरण नबुझाउने सहकारीले करचुक्ता प्रमाणपत्र नपाउने

 सहकारी तथा गरीबी निवारण सूचना प्रणाली (कोपोमिस) मा विवरण नबुझाउने सहकारी संघसंस्थाले करचुक्ता प्रमाणपत्र नपाउने भएका छन् । संघीय सहकारी विभागको अनुरोधअनुसार आन्तरिक राजस्व विभागले परिपत्र गर्दै कोपोमिसमा विवरण बुझाएको प्रमाण पेश गरेपछि मात्र करचुक्ता प्रमाणपत्र दिन मातहतका कार्यालयलाई निर्देशन दिएको हो । यसअघि विभागले आन्तरिक राजस्व विभागलाई पत्रमार्फत कोपोमिसमा विवरण बुझाएको प्रमाण पेश गरेपछि मात्र करचुक्ता दिन आग्रह गरेको थियो । सहकारी विभागको आग्रहअनुसार आन्तरिक राजस्व विभागले सबै करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै सहकारी संघसंस्थाले कोपोमिसमा समष्टिगत विवरण बुझाएपछि प्राप्त हुने सबमिसन नम्बर पेश गरेपछि करचुक्ता दिन निर्देशन दिएको हो ।

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले करचुक्ताको प्रमाणत्र लिन र विभागबाट सेवा लिनका लागि समेत कोपोमिस विवरण बुझाउनु अनिवार्य रहेको बताए । ‘आगामी आर्थिक वर्ष (आव) बाट कोपोमिसमा विवरण नबुझाएका सहकारीले करचुक्ता प्रमाणपत्र पाउँदैनन्,’ उनले भने, ‘त्यसैले आगामी आवबाट विवरण बुझाउने सहकारीको संख्या वृद्धि हुने अपेक्षा छ ।’

सहकारीको एकीकृत तथ्यांक व्यवस्थित गर्न तथा दर्ता र अनुगमनसमेत अनलाइनमार्फत गर्ने उद्देश्यका साथ भूमिसुधार तथा गरीबी निवारण मन्त्रालयले २०७३ चैतबाट कोपोमिस सञ्चालनमा ल्याएको थियो । सफ्टवेयरमा देखिएका प्राविधिक समस्या र प्रयोगकर्ताको उदासीनताका कारण यसको प्रभावकारी कार्यान्वयन भएको छैन । यसमा आबद्ध हुन र विवरण बुझाउन सहकारीले अटेरी गरेपछि करचुक्ता लिन कोपोमिस अनिवार्य गरिएको विभागले जानकारी दिएको छ ।

कोपोमिस कार्यान्वयनलाई प्रभावकारी बनाउन विभागले यसलाई परिमार्जन गरी तत्कालका लागि समष्टिगत रूपमा मात्र तथ्यांक बुझाए पुग्ने व्यवस्था गरेको छ । विभागले जेठमै समष्टिगत विवरण बुझाउन निर्देशन जारी गरेको थियो । यसअघि सहकारीले सदस्यको नागरिकता नम्बरसमेत बुझाउनुपर्ने व्यवस्थाले प्रयोगकर्ताले रुचि नदेखाएको भन्दै विभागले परिवर्तन गरेको हो ।

विभागले निर्देशन जारी गरे पनि कोपोमिसमा समष्टिगत विवरण बुझाउने संस्थाको संख्या बढ्न सकेको छैन । हालसम्म ११ हजार ४१३ सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरे पनि ७ हजार संस्थाले मात्र लगइन छन् । यसैगरी ५ हजार सहकारीले मात्र समष्टिगत विवरण बुझाएको विभागले जानकारी दिएको छ ।

कोपोमिसका प्राविधिक समस्या र सहकारी संघसंस्थासमेत पारदर्शी हुन नचाहँदा प्रयोगकर्ताको संख्या वृद्धि हुन नसकेको हो । यस्तै सहकारीको अधिकार स्थानीय र प्रदेशमा भएपछि संघीय विभागले उनीहरूलाई पनि कोपोमिस प्रयोगको अधिकार दिएको छ । तर, कार्यान्वयनमा चासो देखाएका छैनन् । विभागले प्रदेश र पालिकालाई कोपोमिसको युजर आईडी तथा पासवर्ड दिए पनि उनीहरूले आफूले प्रयोग गर्न र मातहतका सहकारीलाई यसको कार्यान्वयन गराउने काममा प्राथमिकता दिएका छैनन् । विभागका अनुसार २ सय ६३ पालिकाले मात्र सफ्टवेयरमा लगइन गरेका छन् । सहकारी ऐन २०७४ को दफा २९ मा ५ करोड रुपैयाँमाथि कारोबार गर्ने सहकारीले १ वर्षभित्र र त्योभन्दा कम कारोबार गर्नेले ३ वर्षभित्र कोपोमिसमा आबद्ध भइसक्नुपर्ने प्रावधान छ । ऐनमा कोपोमिसमा आबद्ध नहुने सहकारीलाई रजिस्ट्रारले ३ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने प्रावधान भए पनि तोकिएको समय सकिँदासमेत विभागले कुनै सहकारीलाई कारबाही गरेको छैन ।

(यो समाचार  आर्थिक अभियान १ सावन २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links