कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर-आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । उनका अनुसार यि करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

‘रचनात्मक ढंगले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौं,’ उनले भने,’पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’ उनले मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो ।

अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालुजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । ‘महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ,’ उनले भने ।

कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा. अधिकारीकाले बताए ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।

सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।

नाम सार्वजनिक गरिएकाहरुलाई लिखित तथा मौखिक सूचना गरिएको अधिकारीले बताए । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको थियो ।

‘हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ, यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन,’ अधिकारी भन्छन्,’हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन।’

काठमाडौं महानगरपालिकाले महामारीको बहाना बनाएर सम्पत्ति कर तिर्ने समयावधिमा छुट नपाइने बताउँदै आएको छ ।

महामारीबाट प्रभावित भएकाका लागि व्यवसाय र घरबहाल कर तिर्न थप समय र छुट सुविधा दिएको बताउँदै सम्पत्ति करमा त्यस्तो सुविधा दिन नसकिने बताए । ‘काठमाडौंका मुख्य शहरी क्षेत्रमा करोडौंको सम्पत्ति ओगटेर बस्नेले कर तिर्न सक्दैन ?’ उनी भन्छन्, ‘महामारी भनेर सम्पत्ति कर तिर्नबाट मुक्ति पाइँदैन ।

(यो समाचार अनलाइन खबर ७ भाद्र २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links