कर नघटाउँदा इन्धन झन्‌झन् महँगो

काठमाडौँ — इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ६३ रुपैयाँ ९९ पैसामा खरिद गरेको पेट्रोल नेपाली उपभोक्ताले ५९ रुपैयाँ १ पैसा थप गरेर १२३ रुपैयाँमा खरिद गर्छन् । त्यस्तै ६२.८९ रुपैयाँमा खरिद भएको डिजेललाई ४३.११ रुपैयाँ थप गरी १०६ रुपैयाँमा किन्नुपर्छ ।

यस्तो किन भएको ? धेरैलाई थाहै भएको कुरा हो, विभिन्न शीर्षकमा सरकारले पटकपटक थोपरेको कर । यसमध्ये पनि १५ रुपैयाँ कर गत आर्थिक वर्षमा मात्रै बढाइएको हो । त्यसकारण विविध शीर्षकमा थपिएको कर आगामी बजेटमार्फत घटाएर उपभोक्तालाई राहत दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
 

नभए अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्यवृद्धि भइरहेकाले नेपाल आयल निगमले पनि त्यसैअनुसार समायोजन गर्दा झन्झन् महँगो हुने भएको छ । निगमका अनुसार यही गतिमा मूल्यवृद्धि भइरहे पेट्रोलको मूल्य १४० रुपैयाँ नाघ्छ । गत आर्थिक वर्षमा मात्रै सरकारले प्रतिलिटर १५ रुपैयाँ थप हुने गरी इन्धनमा कर थपिदिएको थियो । जसले इन्धनको मूल्यवृद्धिमा भूमिका खेलिरहेको छ ।

पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउने र त्यसअनुसार मूल्य बढाउनुपरेको निगमको भनाइ छ । निगमले घाटा थेग्न नसक्ने भन्दै आइतबार इन्धनको मूल्य बढायो । तर पनि पाक्षिक नोक्सान १ अर्ब १० करोड रुपैयाँ रहेको दाबी गरिरहेको छ । ६ वर्षदेखि निरन्तर नाफामा रहेको निगम चालु आर्थिक वर्षको १५ वैशाखसम्म २ अर्ब रुपैयाँ नोक्सानीमा गइसकेको छ । ‘मूल्य समायोजन नगर्दा प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ घाटा हुने देखिन्थ्यो । अहिले पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५६ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा घाटामै छौं,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जति मूल्य बढेको हो, त्यसैअनुसार बढाउने हो भने हाल पेट्रोलको मूल्य १ सय ३२ रुपैयाँ र डिजेल झन्डै १ सय ११ रुपैयाँ पुग्थ्यो । हामी अत्यधिक घाटामा जान थालेपछि मूल्य समायोजन गर्न बाध्य भयौं ।’

यसकारण पनि इन्धनको मूल्य बढ्नुमा सरकारकै कर प्रमुख कारण हो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि अनि डलरको भाउ । पौडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै कच्चा तेलको मूल्य थप बढ्ने क्रममा छ । एक महिनामा कच्चा तेलको मूल्य करिब ६५ बाट करिब ६९ डलर पुगेको छ । डलरले पनि मूल्यमा प्रभाव पारेको छ । डलर बलियो हुँदा भाउ थप बढ्न पुगेको निगमले जनाएको छ । ‘डलरको सटही दर १ सय १० देखि ११ रुपैयाँसम्म हुँदा इन्धनको मूल्य सस्तो नै हुन्थ्यो । तर डलर पनि महँगो भएको छ,’ पौडेलले भने, ‘खासमा बढाउनैपर्ने जति रकम बढाएका छैनौं । घाटा बेहोरेर भए पनि कम मूल्यमा बिक्री गरिरहेका छौं ।’ कच्चा तेल र डलरको भाउ बढ्ने क्रम जारी भएकाले सर्वसाधारणलाई राहत दिने हो भने एक मात्रै विकल्प कर घटाउनु हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अझै बढ्ने आकलन गरिएकाले यहाँ पनि मूल्य बढ्ने सम्भावनालाई हेरेर इन्धनको करनीति पुनरावलोकन आवश्यक रहेको जानकारहरू बताउँछन् । ‘पेट्रोललाई विलासिताको वस्तुका रूपमा हेरिएकाले कर बढी नै छ । तर डिजेल आधारभूत आवश्यकता नै हो । भारतमा तस्करी हुने भनेर यहाँ मूल्य बढाउने पनि गरिन्छ,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘उपभोक्ताको हितलाई अझै हेर्न सकेका छैनौं । तस्करी नियन्त्रण, शान्तिसुरक्षा र सुशासन कायम गर्ने राज्यको दायित्व हो । इन्धनमा करमा एक पटक पुनरावलोकन गर्न जरुरी छ ।’ एक वर्षअघि कच्चा तेलको मूल्य करिब ४५ डलर थियो । अहिले करिब ७० डलर पुगेको छ । ‘नेपाली बजारमा मूल्य बढ्नुमा मुख्य दुई कारण छन्,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, ‘एउटा डलर र अर्को राजस्वमा १५ रुपैयाँ वृद्धि । यी कारणले मूल्य समायोजन गर्दा सर्वसाधारणलाई महँगो भएको हो ।’

सरकारले गत जेठबाट प्रतिलिटर १० रुपैयाँका दरले पूर्वाधार कर लिने गरेको छ । यसबाहेक पाँच रुपैयाँ गत वर्षको बजेटले नै भन्सार महसुल पनि थपिदिएको हो । १५ रुपैयाँ कर अर्थमन्त्री युवराज खतिवडाको पालामा थपिएको हो । यो करको पाँच रुपैयाँ मात्रै आगामी बजेटले घटाइदिने हो भने उपभोक्ताले ११८ रुपैयाँमा पेटोल किन्न सक्छन्, १५ रुपैयाँ हटाइदिए १०८ रुपैयाँमा । तर महत्त्वपूर्ण स्रोत राजस्व भएकाले सरकार घटाउन चाहन्न । स्रोतका अनुसार आगामी आर्थिक वर्षबाट १५ रुपैयाँमध्ये कम्तीमा ५ रुपैयाँ कर घटाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल चलिरहेको छ । तर करको विषय अन्तिममा निर्णय हुने भएकाले यसबारे निष्कर्षमा पुगिएको छैन ।

इन्धनको मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ । इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउन चलखेल गर्छन् । ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यलगायत अन्य वस्तुको पनि मूल्य बढ्ने सम्भावना उच्च हुन्छ । जसले गर्दा कर थप्दा जनताले तिर्न सक्ने क्षमतालाई हेरेर निर्णय गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । ‘इन्धनमा प्रायः सबै मुलुकमा बढी कर लगाउने गरिन्छ । तर कतिसम्म महँगो राख्ने कुरामा जनताको क्रयशक्ति र आवश्यकतालाई पनि हेर्नुपर्छ । दुवै सन्तुलन मिलाउनु आवश्य छ,’ ओझाले भने, ‘गत वर्ष कुल राजस्वको करिब १२ प्रतिशत इन्धनबाटै संकलन गरिएको थियो । सरकारी खर्च धान्नलाई ठूलो आयस्रोत चाहिन्छ । तर आम जनताले तिर्न सक्ने कुरामा पनि ध्यान दिनुपर्छ ।’


(यो समाचार  कान्तिपुर ४ जेठ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links