अग्रिम आयकर बढी भए फिर्ता लिनै कठिन


काठमाडौं । किस्ताबन्दीमा बुझाएको अग्रिम कर रकम अन्तिम कर आय विवरणभन्दा बढी भएमा सजिलै फिर्ता पाउनुपर्ने नियम भए पनि करदाताले सहजै पाउन सकेका छैनन् ।

आयकर ऐनको दफा ११३ र आयकर नियमावली २०५९ को नियम ३६ मा कर फिर्ताको प्रावधान राखिएको छ तर कर अधिकारीहरूलाई फिर्ता गर्ने अधिकार नहुँदा व्यावहारिक समस्या निम्तिएको हो ।

आयकर ऐन २०५८ अनुसार, करदाताले पुस, चैत र असार मसान्तमा सो आर्थिक वर्षको सम्भावित आयकरबापतको रकम अग्रिम रूपमा कर कार्यालयहरूमा बुझाउनुपर्छ । यस्तो रकम पुसमा ४० प्रतिशत, चैत र असारमा ३०/३० प्रतिशत तिर्नुपर्ने कानूनी व्यवस्था छ । यसरी अग्रिम रूपमा बुझाउने कर सम्भावित कर दायित्वको निश्चित प्रतिशतभन्दा कम भएमा करदाताले जरीवाना नै तिर्नुपर्छ ।

किस्ताबन्दीमा बुझाएको अग्रिम कर रकम अन्तिम कर आय विवरणभन्दा बढी भएमा सजिलै फिर्ता पाउनुपर्ने कानूनी व्यवस्था भए पनि पाउन नसकिएको व्यवसायीको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघको राजस्व समितिका पूर्वसभापति एवं व्यवसायी अशोककुमार तोदीका अनुसार सरकारबाट कर फिर्ता लिनै कठिन छ । ‘कर फिर्तासम्बन्धी नीतिगत व्यवस्था भयो तर व्यावहारिक समस्या देखियो, त्यस्तो समस्या हटाउन राज्यले पहल गरेको देखिएन,’ उनले भने ।

अहिले भएको नीतिगत व्यवस्थालाई पनि स्पष्ट पारेर व्यावहारिक रूपमै समस्या सल्टाउन सरकार लाग्नुपर्ने उनी बताउँछन् । व्यवसायीहरूले किस्ताबन्दीमा तिरेको कर प्रायःजसो बढी जाने गरे पनि फिर्ता पाउनै कठिन भइरहेको तोडीको भनाइ छ ।

‘कुनै कारण कम्पनी घाटामा गएर वा किस्ताबन्दीमा तिरेको आयकर बढी हुन गएमा व्यवसायीले फिर्ता लिनुपर्ने अवस्था आउँदा सरकारले हिसाब मिलन गर्न मान्दै मान्दैन,’ उनले भने ।

सरकारले वार्षिक बजेटमा राजस्व अनुमान राख्ने गरे पनि कर फिर्ता गर्नुपर्ने दायित्व अनुमान गरी बजेटमा नै नतोक्दा पनि समस्या निम्तिएको व्यवसायीको भनाइ छ । यसले गर्दा करदाताले दायित्वभन्दा बढी तिरेको रकम मिलान गर्ने अवधि पछाडि धकेलिने गरेको तोदीको भनाइ छ ।

व्यवसायीहरूले सरकारको आयकर फिर्ताबापत दायित्वको परिमाण ठूलो हुने बताए पनि ठ्याक्कै कति छ, भन्नेबारे आन्तरिक राजस्व विभागका अधिकारीहरू केही बताउन चाहँदैनन् ।

उच्चस्तरीय कर प्रणाली पुनरवलोकन आयोगले पनि नेपालमा कर फिर्ताको प्रक्रिया असाध्यै अप्ठ्यारो रहेको उल्लेख गर्दै यसको सुधारका लागि सुझाव दिएको थियो तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।

आयोगले तयार पारेको प्रतिवेदन लेखन सदस्यका रूपमा रहेका तत्कालीन आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रामहरि दवाडी व्यावहारिक समस्या भए सल्टाइहाल्नुपर्ने बताउँछन् । कर प्रशासनमा पहिलेको तुलनामा धेरै सुधार भए पनि अझै कतिपय सुधार गर्न बाँकी पक्षहरू रहेको बताउँदै समस्या समाधानबाट राज्य पन्छिन नहुने उनको भनाइ छ ।

दवाडीका अनुसार करदाताले बढी तिरेको आयकर फिर्ता दिने अधिकार कर अधिकारीलाई नभएको कारण पनि कर फिर्ता गर्न समस्या निम्तिएको हुनसक्छ । ‘कर अधिकारीले करदाताको निवेदन निर्णयका लागि अर्थ मन्त्रालयमा नै पठाउनुपर्ने अहिलेपनि त्यही देखियो, प्रक्रियागत हिसाबले आयकर फिर्तामा रहेको या झन्झटिलो व्यवस्थालाई हटाउनुपर्छ,’ उनले बताए ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ती पाण्डे किस्ताबन्दीमा तिरेको करको हिसाब मिलानलाई सहज पार्न प्रयास भइरहेको बताउँछन् ।

कर अधिकृतले हिसाब मिलानका लागि आएको निवेदन विभागमा पठाएमा र निर्णयका लागि अर्थमन्त्रालयमा पठाउने विगतदेखिको परम्परा रहिरहेपनि निर्णयका लागि विभागबाट ताकेता भने भइरहने उनको भनाइ छ ।

(यो समाचार   आर्थिक अभियान चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links