स्थानीय तहमा कर शिक्षाको अभाव, कर तिर्न उस्तै झन्झट


आगामी आर्थिक वर्षको वाषिर्क बजेट तथा आय-व्ययको अनुमानित विवरण सार्वजनिक गर्नुपूर्व स्थानीय सरकारले राजस्व संकलन हुने क्षेत्रको पहिचान र प्रक्षेपण गर्नुपर्छ । स्थानीय तहको मूख्य आम्दानीको स्रोतका रुपमा रहने आन्तरिक आय बढाउन र करदातामैत्री बनाउन भने पर्याप्त प्रयास हुन नसकेको एक अध्ययनले देखाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ‘स्थानीय तहको क्षमता आवश्यकता पहिचान अध्ययन प्रतिवेदन २०७८’ अनुसार २७.१६ प्रतिशत स्थानीय सरकारले मात्र कर शिक्षाका कार्यक्रम संचालन गरेको पाइएको छ । ७२.८४ प्रतिशत स्थानीय तहमा भने कर शिक्षा सम्बन्धित कार्यक्रम संचालन नै हुन सकेका छैनन् ।

कर संकलन गर्दा कर सदुपयोगको सुनिश्चितता समेत प्रदान गर्न सके नागरिकमा विश्वास बढ्ने भन्दै स्थानीय सरकारहरुले कर शिक्षाका कार्यक्रम बढाउन नसकेको अध्ययनले देखाएको छ । मन्त्रालयले देशभरबाट सबै प्रदेश समेट्ने गरी नमूना स्थानीय तह छनोट गरी गरेको अध्ययनका आधारमा यस्तो प्रतिवेदन बनाएको हो ।

९१.३६ प्रतिशत स्थानीय तहको वडा कार्यालयमा कर संकलन

अध्ययन प्रतिवेदन अनुसार ९१.३६ प्रतिशत स्थानीय तहको वडा कार्यालयबाट कर संकलन गर्न सक्ने गरी सुविधा तल्लो तहसम्म पुर्‍याएका छन् । तर, कर तिर्न नागरिकले झण्झट भने उस्तै बेहोर्नु परेको देखिएको छ । अहिले पनि स-सानो अंकमा हुने कर तिर्न समेत नागरिकले वडा कार्यालय धाउनु पर्छ ।

तर, पछिल्लो समय प्रविधिको माध्यमबाट कर तिर्न सकिने प्रणाली जडानको काम भइरहेको छ । राजस्व संकलनमा सफ्टवेयरको प्रयोग आधा भन्दा बढीले गरेका छन् । तर, अनलाइन माध्यमबाट कर तिर्न सकिने सुविधा भए एक तिहाई स्थानीय सरकारले मात्र दिन सकेका छन् । दुई तिहाई स्थानीय तहमा अनलाइन प्रविधिको प्रयोग नभएको पाइएको छ ।

राजस्व संकलनको नक्साङ्कन पनि छैन

स्थानीय सरकारले हरेक पटक आगामी आवका लागि आफ्नो वाषिर्क बजेट तथा आय-व्ययको अनुमानित विवरण सार्वजनिक गर्नुपूर्व गाउँपालिका र नगरपालिकाका राजस्व संकलन हुने क्षेत्र पहिचान गरी सो को नक्साङ्कन तथा ती क्षेत्रबाट संकलन हुने राजस्व रकमको प्रक्षेपण गर्नुपर्ने हुन्छ ।

अध्ययनबाट देखिएको निष्कर्षअनुसार धेरैजसो स्थानीय तहले नक्सांकन बीना नै राजस्व रकमको प्रक्षेपण गर्ने गरेको पाइन्छ । मात्र २० प्रतिशत हाराहारी स्थानीय तहले मात्र राजस्व उठाउन सक्ने क्षेत्रको नक्सांकन गरी रकम प्रक्षेपण गर्ने गरेको अध्ययनले देखाएको छ ।

त्यसो त राजस्व प्रक्षेपण समेत नगर्ने स्थानीय तहसमेत रहने गरेको अध्ययनको निष्कर्ष छ ।

पर्याप्त दक्ष कर्मचारी, तालिम र प्रविधिको अभाव

अध्ययन अनुसार आन्तरिक आय व्यवस्थापनका लागि स्थानीय सरकारहरुले पर्याप्त दक्ष कर्मचारी, तालिम र प्रविधि भने नभएको गुनासो गरेका छन् । सूचना प्रविधि, पर्याप्त दक्ष जनशक्ति र तालिमको आवश्यकता रहेको स्थानीय तहले अध्ययनमा उल्लेख गरेका छन् ।

साथमा राजस्व शाखा हेर्ने सहायकस्तरका कर्मचारी समेत आवश्यक रहेको स्थानीय तहको भनाइ छ । अनलाइन कर प्रणाली लागु गर्न, राजस्वको अभिलेखन, आन्तरिक आय व्यवस्थापन, राजस्व सुधार, राजस्व संकलन क्षमता विकास तालिम तथा राजस्व संकलनका लागि व्यवस्थित सफ्टवेयरको समेत आवश्यकता रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

धेरैजसो स्थानीय तहमा राजस्व परामर्श समिति सक्रिय

स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र परिचालन गर्न सक्ने राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गरी आगामी आवमा उठ्न सक्ने राजस्वको अनुमान गर्ने प्रयोजनका लागि राजस्व परामर्श समिति गठन गर्नुपर्ने प्रावधान रहेको छ ।

यस्तो समिति गाउँपालिका उपाध्यक्ष/उपप्रमुखको नेतृत्वमा हुने गर्छ । यो समिति भने ९१.३५ प्रतिशत स्थानीय तहमा सक्रिय रहेको पाइएको छ । अध्ययनमा समावेश भएका स्थानीय तहमध्ये ८३.९५ प्रतिशतमा राजस्व व्यवस्थापनका लागि छुट्टै शाखा भने स्थापना भएको पाइएको छ ।

अर्कोतर्फ राजस्व वापत प्राप्त गरेको आम्दानीलाई सकेसम्म संकलन भएको दिनमा वा त्यो दिन नसके भोलीपल्ट २४ घण्टा भित्र बैंकमा दाखिला गरी आम्दानीमा जनाउनु पर्छ ।

यस प्रकारको प्रणाली अवलम्बन गरेका स्थानीय तह ८७.६५ प्रतिशत रहेको देखिन आएको छ । अन्य स्थानीय तहले भने यस्तो नियमको परिपालनामा चुक्ने गरेका छन् ।
 

बजेट र कार्यक्रम स्वीकृति गर्ने समयसीमा परिपालना कस्तो ?

कानून अनुसार स्थानीय तहले १० असार भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । असार मसान्त भित्र बजेट पास गरी १ साउनबाट कार्यान्वयनमा जानु पर्छ । तर, कतिपय स्थानीय तहले भने यस्तो नियमको परिपालना गर्दैनन् ।

तथ्यांकअनुसार ९५.०६ प्रतिशत स्थानीय तहले समयमै बजेट ल्याउने तथा कार्यक्रम पास गर्छन् । तर, अन्य स्थानीय तहमा भने समयको परिपालनामा अझै पनि समस्या देखिन्छ । सरकारले लेखा प्रणालीको व्यवस्थापनका लागि स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) कार्यान्वयनमा ल्याएको छ ।

यो स्थानीय तहहरुको योजना, बजेट र लेखांकनसँग सम्बन्धित सफ्टवेयर हो । यो सफ्टवेयर कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यालयसँग आवद्ध  भएको छ । यस्तो प्रणाली कार्यान्वयनमा ल्याउने स्थानीय तहसमेत ९५.०६ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

(यो समाचार  अनलाइन खबर २८ मंसिर २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links