कर राजस्वमा स्थानीय तहको छलाङ


आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं महानगरपालिकाले सम्पत्ति करबाट ८० करोड, नक्सापास दस्तुरबाट १ अर्ब र बहाल करबाट करिब १ अर्ब ५० करोड रुपैयाँ संकलन गर्‍यो ।
तीनै क्षेत्रको राजस्वको कुल योग ३ अर्ब ३० करोड रुपैयाँ हुन्छ । तत्कालीन स्थानीय निकाय वित्तीय आयोगबाट प्रकाशित स्थानीय निकायहरूको वित्तीय स्थिति प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०६३/६४ मा नेपालका सबै स्थानीय निकाय गाविस, नपा र जिविस) को कुल आन्तरिक कर राजस्व जम्मा २ अर्ब ४७ करोड मात्र थियो । आर्थिक वर्ष २०६३/६४ मा नेपालको सिंगो स्थानीय निकायले संकलन गरेको कर राजस्वभन्दा अहिले काठमाडौं महानगरपालिकाले केवल तीनवटा क्षेत्रबाट संकलन गरेको राजस्व धेरै छ । आर्थिक वर्ष २०६३/६४ पछि १० वर्षको अवधिमा सिंगो स्थानीय निकायहरूको आन्तरिक कर राजस्व १० अर्ब ४२ करोड रुपैयाँ पुग्यो ।
 

महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७५/७६ मा स्थानीय तहहरूको आन्तरिक कर राजस्व करिब २७ अर्ब रुपैयाँ पुगेको थियो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपश्चात् आन्तरिक कर राजस्वमा भएको बढोत्तरी हो यो । साबिक र अहिलेको संरचनामा धेरै फरक भएको हुँदा तुलना गर्नु त्यति सान्दर्भिक नहोला तर पनि अंकगणितीय हिसाबले साबिकसँग तुलना गर्दा स्थानीय तहको कर राजस्वले छलाङ मारेको छ । यो छलाङ नेपाल सरकारले संकलन गरेको कर राजस्वसँग तुलना गर्ने हो भने अति नै न्यून हो । जस्तो— आर्थिक वर्ष २०६३/६४ मा नेपाल सरकारले ८७ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९ अर्ब पुग्यो । आर्थिक वर्ष २०७५/७६ मा नेपाल सरकारले ८ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गर्‍यो । नेपाल सरकारसँग तुलना गर्दा स्थानीय तहको राजस्व वृद्धि सामान्य हो ।

निश्चय पनि मुलुक संघीयतामा प्रवेशपश्चात् स्थानीय तहको कर राजस्वको दायरा केही बढेको छ, जस्तो— बहाल कर । संविधानले स्थानीय तहको राजस्व अधिकारको सूचीमा यसलाई समावेश गरेको छ । हुन त साबिक एकात्मक व्यवस्थामा पनि तत्कालीन स्थानीय स्वायत्त शासन नियमावलीले नगरपालिकाहरूलाई २ प्रतिशतसम्म बहाल कर संकलन गर्ने अधिकार दिएको थियो तर नगरपालिकाको संकलन अति नै न्यून थियो । अहिले लगभग प्रायः ठूला सहरी क्षेत्रहरूमा बहाल करबाट राम्रो राजस्व संकलन भइरहेको छ । यो सहित सम्पत्ति कर र नक्सापास दस्तुरको दायरा बढाउने हो भने धेरै राजस्व संकलन हुने सम्भावना छ । सम्पत्ति करलाई मात्र व्यवस्थित गर्ने हो भने पनि कैयौं गुणा राजस्व अभिवृद्धि हुन्छ । विश्व बैंकको हालसालैको एक अध्ययन प्रतिवेदनअनुसार, मलेसियाको क्वालालम्पुर सहरको कुल कर राजस्वमा सम्पत्ति करको भार ९३ प्रतिशत छ भने फिलिपिन्सको मेट्रो मनिलाको ५४ प्रतिशत । दक्षिण अफ्रिकामा कर राजस्वमा जोहानेसबर्ग, डर्बन, केप टाउन र प्रिटोरियाको सम्पत्ति करको भार ४०–५० प्रतिशतका बीचमा छ । तर नेपालमा यो २० प्रतिशत पनि छैन । महानगरपालिकाहरूकै सम्पत्ति कर संकलनको अवस्था त्यति राम्रो छैन ।

बढ्दो सहरीकरणका कारण आर्थिक क्रियाकलापहरूमा पनि वृद्धि हुन्छ । यसको सकारात्मक प्रभाव राजस्वमा पनि पर्छ । सम्पत्ति करलगायतका दायराहरू पनि बढ्छन् । सहरीकरण र भौतिक मूल्यमा आएको परिवर्तनसँगै करका दर र दायरामा परिवर्तन र प्रशासनिक व्यवस्थामा सुधार गर्ने हो भने केही ठूला नगरपालिकाहरूले अनपेक्षित रूपमा ठूलो फड्को मार्न सक्छन् । काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, धरान, इटहरी, भरतपुर, बुटवल, घोराही, नेपालगन्ज, धनगढीजस्ता ठुल्ठूला सहरी क्षेत्रका स्थानीय तहहरू यसतर्फ गम्भीर हुन जरुरी छ ।

बहाल कर संकलनमा अर्थ मन्त्रालयले केही नीतिगत प्रश्न उठाएको छ, जसको समाधान सम्बन्धित निकाय (विशेष गरी संसद्) ले गर्ला नै । संसद्बाटै समस्याको समाधान हुने गरी पहलकदमीका लागि मन्त्रालयको ध्यान जान पनि आवश्यक छ । साँच्चिकै स्थानीय तहले राजस्व संकलनमा पर्याप्त ध्यान दिने हो भने ठूलो कर राजस्व उठाउन सक्ने सम्भावना छ । तर कतिपय पालिकाहरू कर राजस्व लेनदेनमै (विशेष गरी ढुंगा, बालुवा, गिट्टीलगायतका सम्बन्धमा) रमाएका भन्ने समाचारहरू पनि नआएका हैनन् । यसमा सम्बन्धित निकायहरूको ध्यान जान आवश्यक छ । यसैगरी स्थानीय नागरिकहरू पनि जागरुक हुन त्यत्तिकै जरुरी छ ।

समयक्रममा जनसंख्या वृद्धिसँगै यथास्थितिमा पनि राजस्व बढ्छ । मानिसको जीवनस्तर, सामाजिक–आर्थिक पूर्वाधार विकास, सहरीकरण आदिमा आएको परिवर्तनसँगै राजस्व संकलनमा पनि अभिवृद्धि हुन्छ । तर अपेक्षित रूपमा नेपाल सरकारले आफ्नो राजस्व संकलनमा सुधार गर्दै लग्ने तर स्थानीय तहले त्यति ध्यान नदिने स्थितिको समीक्षा जरुरी छ । स्थानीय चुनावी प्रतिस्पर्धामा कर राजस्वको दर कम गर्ने, दायराहरू नबढाउने भन्ने अवस्थासमेत देखिएको हुँदा यस्ता पक्षलाई कसरी निराकरण गर्ने भन्ने विषयमा पनि बहस/छलफल हुनुपर्छ । सरकारले अनुदान बढाइदेओस् भन्ने तर आफ्नो कर राजस्व बढाउनेतिर त्यति ध्यान नदिने अवस्था आउन दिन हुँदैन । कर राजस्वको प्रयासलाई पनि अनुदान वितरणको आधार मान्नुपर्छ भन्ने व्यवस्था संविधानमा छ । अहिलेसम्म यस पक्षलाई अनुदान वितरणमा हेरिएको छैन । सम्भवतः आगामी दिनमा यस पक्षले प्राथमिकता पाउने स्थिति छ ।

संविधानतः भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क आदिलाई संघमातहत राखिएको छ । यसैगरी घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयमा करको जिम्मा प्रदेशलाई छ । स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर आदि स्थानीय तहका लागि छुट्ट्याइएको छ । कर राजस्वमा केन्द्रमा बढी अधिकार रहे पनि राजस्व बाँडफाँट र अनुदानलगायतका माध्यमबाट त्यो तलै जाने हो । जस्तो— राजस्व बाँडफाँटअन्तर्गत स्थानीय तहले मूल्य अभिवृद्धि कर र अन्तःशुल्क (आन्तरिक उत्पादन ) को १५ प्रतिशत स्थानीय र १५ प्रतिशत प्रदेशले प्राप्त गर्ने कानुनी व्यवस्था छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले संकलन गरेको कुल राजस्व ८ खर्ब ४१ अर्बमध्ये मूल्य अभिवृद्धि करबाट मात्र २ खर्ब २४ अर्ब उठेको थियो, जुन कुल राजस्व संकलनको करिब २७ प्रतिशत हो । मूल्य अभिवृद्धि करबाट मात्र यति ठूलो रकम स्थानीय तहले प्राप्त गरेका छन् । मूल्य अभिवृद्धि करको रकम आफूलाई सीधै आउने भएकाले स्थानीय तह सामान खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल लिने/दिने व्यवस्था कार्यान्वयनमा सहजीकरण गर्ने काममा पनि लाग्न जरुरी छ ।

प्रदेश र स्थानीय तहका केही राजस्व अधिकारहरू बाझिएका छन् । बाझिएका राजस्व अधिकारलाई एकल कर प्रशासनबाट व्यवस्थापन गर्ने कानुनी व्यवस्था अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा छ । ऐनमा कुन तहको सरकारले आधार र दर तोक्ने अनि कुन तहको सरकारले संकलन गर्ने भन्ने व्यवस्था छ । जस्तो— घर जग्गा रजिस्ट्रेसन शुल्कको आधार र दर तोक्ने अधिकार प्रदेश सरकारलाई छ भने संकलन स्थानीय तहले गर्नेछ । स्थानीय तहले गर्ने काम हाल मालपोत कार्यालयहरूले गरिरहेका छन् । मालपोत कार्यालयले नै सम्बन्धित पालिका र प्रदेशको सञ्चित कोषमा रकम दाखिला गर्छन् । यसै गरी सवारीसाधन करको दर तोक्ने र संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई छ । यसको समन्वय संघीय सरकारको यातायात व्यवस्था विभागले गरिरहेको छ । तर हरेक प्रदेशमा प्रदेश सरकारकै ब्यानरमा यातायात कार्यालयहरू छन् । साबिक यातायात कार्यालयहरू प्रदेशमा हस्तान्तरित भएका हुन् । एकल कर प्रशासनमा जसले राजस्व संकलन गर्छ, उसले ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत अन्य तहका सरकारलाई हस्तान्तरण गर्छ । जस्तो— सवारीसाधन कर प्रदेशले आफूलाई ६० प्रतिशत राखी बाँकी स्थानीय तहलाई हस्तान्तरण गर्छ । यसैगरी घरजग्गा रजिस्ट्रेसनमा स्थानीय तहलाई ६० प्रतिशत र प्रदेशलाई ४० प्रतिशत हुने व्यवस्था छ ।

स्थानीय तहको कुल आयमा अनुदानको ठूलो हिस्सा छ । चालु आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तहले राजस्व बाँडफाँटसहित ३ खर्ब २४ अर्ब रुपैयाँ अनुदान प्राप्त गरेका छन्, जुन कुल संघीय बजेटको २२ प्रतिशत हो । प्रदेश सरकारबाट पनि स्थानीय तहले राम्रै अनुदान पाएका छन् । प्रदेश सरकारहरूले चालु आर्थिक वर्ष २०७७/७८ मा आफ्नो कुल बजेटको करिब १० प्रतिशत स्थानीय तहलाई अनुदानका रूपमा हस्तान्तरण गरेका छन् । संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको कुल अनुदान ३ खर्ब २४ अर्बमध्ये १ खर्ब ६१ अर्ब रुपैयाँ ससर्त अनुदान हो । यस अनुदानको अधिकांश हिस्सा शिक्षक र कर्मचारीको तलब–भत्तालगायतसँग सम्बन्धित छ । यसैगरी केही अंश स्वास्थ्य, कृषि आदि विषयगत निकायसम्बद्ध कर्मचारीहरूको प्रशासनिक खर्चसँग पनि जोडिएको छ । १२ अर्ब रुपैयाँ जति विशेष अनुदान र समपूरक अनुदानसँग सम्बन्धित छ । विशेष अनुदान र समपूरक अनुदानमा स्थानीय तहले आफ्नो तजबिजका आधारमा खर्च गर्न पाउँदैनन् । तर समपूरक अनुदानमा केही लचकता छ ।

आफ्नो स्थानीय आवश्यकताका आधारमा योजना छनोट र कार्यान्वयनलगायत आफ्नै तजबिजका आधारमा खर्च गर्न पाउने रकम वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट उपलब्ध भएको हो । स्थानीय तहको कुल अनुदानमा १ खर्ब ५२ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको हिस्सा छ । यसप्रति स्थानीय तह औसत २० करोड रुपैयाँ हो । यस रकमलाई निःसर्त अनुदान भने पनि हुन्छ । चार वर्ष अगाडिसम्म अधिकांश जिविसको कुल अनुदान ससर्तसहित २० करोड रुपैयाँ पनि थिएन । अहिले त स्थानीय तहले औसत २० करोडसम्मको निःसर्त अनुदान प्राप्त गरेका छन् । यसका अतिरिक्त चालु आर्थिक वर्षमा स्थानीय तहले प्रदेशबाट ६ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएका छन् ।

स्थानीय तहहरूले अनुदान रकम नै खर्च गर्न सकिरहेका छैनन् । स्थानीय कर राजस्व संकलनमा त्यति ध्यान नजानुमा यो पनि महत्त्वपूर्ण कारक हो । आर्थिक वर्ष २०५२/५३ मा स्थानीय निकायले पहिलोपटक निःसर्त अनुदानका रूपमा प्रतिगाविस ३ लाख रुपैयाँका दरले पाउन थालेका थिए, जुन अहिले बढेर औसत २० करोडसम्म पुगेको हो । निश्चय पनि यो स्थानीय वित्त अभिवृद्धिमा ठूलो छलाङ हो । हुन त अहिले पालिकाका जिम्मेवारीहरू बढेका छन्, पालिकाको संख्याहरू कम छन्, पहिले र अहिलेका स्थानीय तहहरूको संवैधानिक, कानुनी र संरचनागत रूपमै ठूलो भिन्नता छ । तर पनि सुरुवाती चरणमा कुल बजेटको २२ प्रतिशतसम्म अनुदान स्थानीय तहमा हस्तान्तरण गरिनुलाई सुखद रूपमा लिनुपर्छ । तर ससर्तसहित अन्य अनुदानमा रहेका कमीकमजोरीहरू रोक्न जरुरी छ ।

स्थानीय कर राजस्व, राजस्व बाँडफाँट र अनुदानका अलावा स्थानीय तहले प्राकृतिक साधनको रोयल्टीका रूपमा २५ प्रतिशत प्राप्त गर्ने व्यवस्था छ । यी प्राकृतिक साधनमा पर्वतारोहरण, विद्युत्, वन, खानी तथा खनिज, पानी तथा अन्य हुन् । प्रभावित सम्बन्धित स्थानीय तहमा बाँडफाँट गरिने यो रोयल्टी हालसालै स्थानीय तहले १ अर्ब ११ करोड रुपैयाँ पाएका छन् ।

साबिक एकात्मक व्यवस्थामा सानोतिनो कामका लागि पनि सिंहदरबार धाउनुपर्ने अवस्था थियो । अर्थ मन्त्रालय र योजना आयोगमा बजेट तथा योजना माग्नेहरूको भीडभाड हुन्थ्यो । अहिले स्थानीय तहहरू २–४ करोड हैन, केही त अर्ब खेलाउने अवस्थामा छन् । स्थानीय तहको वित्तीय स्रोतमा यति अभिवृद्धि भएको छ, उनीहरूले चाहेमा नांगा पहाडहरू हरियालीले भरिपूर्ण अनि जर्जर र सुक्खा जमिन उर्वर हुन सक्छन् । सामाजिक, आर्थिक, पूर्वाधारलगायतका जुनसुकै स्थानीय क्षेत्रमा काम गर्न सक्छन् । केहीले असल प्रयास पनि गरेका छन् तर नागरिकको सोच र अपेक्षाअनुसार परिणाम नआएको गुनासो छ । यसतर्फ पनि स्थानीय तहहरूको ध्यान जान आवश्यक छ । अनुदानमा निर्भर रहनुभन्दा आफ्नो कर राजस्वको दायरा बढाउनेतर्फ ध्यान जान पनि जरुरी छ ।

(यो समाचार  कान्तिपुर  चैत्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links