उत्कृष्ट १५ करदाता, तीन कार्यालय र १० कर्मचारीहरू सम्मानित


नेपालमा कानुनी व्यवस्था सहित आयकर सुरुवात भएको ६ दशक र भ्याट सुरु भएको दुई दशक पूरा भएको छ ।

आन्तरिक राजस्व विभागले यही मङ्सिर १ देखि ७ गतेसम्म ९औँ राष्ट्रिय कर दिवस सप्ताह मनाएको छ । यस वर्ष “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ विभागले सप्ताहव्यापी कार्यक्रमहरू गरेको छ । यसै अवसरमा विगतका वर्षहरुमाझैं यस वर्ष पनि विभिन्न उत्कृष्ट करदाता, उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय र कर्मचारीहरूलाई विभागले सम्मानित गरेको छ ।

यस वर्ष कोभिड-१९ को महामारीका कारणले भव्य कार्यक्रम नभए पनि भर्चुअल प्रणालीमार्फत आन्तरिक कार्यालयहरू र करदाता सेवा कार्यालयहरूले राष्ट्रिय कर दिवस मनाएको विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बताएका छन् । उनले तुलनात्मक रूपमा यस आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले महामारीकाबीच विभिन्न कठिनाइ र चुनौतीको सामना गर्दै गरेको काम सन्तोषजनक रहेको बताएका छन् । पछिल्लो समयमा विभाग प्रविधिमैत्री हुँदै गएको पनि उनले बताएका छन् ।

कर दिवसको अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन गर्दै समग्र राजस्वको संरचनामा राजस्वको अंशमा अभिवृद्धि गर्न, करको दायरा विस्तार गर्न र कर चुहावट नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । उनले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, बक्यौता असुली, बेरुजु फर्छ्योट परिपालनाका विधिलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

सबैभन्दा बढी कर बुझाउने १५ करदाता सम्मानित
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६-०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मानित गरेको छ ।

विभागले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ९औँ राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७५-०७६ को आय विवरणका आधारमा सबै भन्दा बढी आयकर तथा आर्थिक वर्ष २०७६।०७७ मा उत्कृष्ट कर सहभागिता जनाई सबै भन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाताहरूलाई आइतबार सम्मान गरेको हो ।

आव ०७५-०७६ को आय विवरणका आधारमा सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । आर्थिक वर्ष ०७५-०७६ मा निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल प्रालि र सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड सम्मानित भएका छन् ।

यस्तै विभागले कृषि एवं पशुपन्छीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र बैङ्क वित्तीय संस्थामा नबिल बैङ्क लिमिटेडलाई सम्मान गरेको छ।

बिमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने नेपाल पुनर्बिना कम्पनी लिमिटेड, शिक्षा सेवामा मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप(नेपाल) प्रालि, विप्रेषणको कारोबार गर्नेमा आईएमई लिमिटेड र व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड प्रालि सम्मानित भएका छन् ।

पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, मध्यम स्तरीय करदाता कार्यालयको कार्य क्षेत्रमा कामना सेवा विकास बैङ्क लिमिटेड, आन्तरिक राजस्व कार्यालयहरूको कार्य क्षेत्रमा भीएफ सर्भिसेज(मोरिसस) प्रालि र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्री प्रालि सम्मानित भएका छन् ।

उत्कृष्ट कार्य सम्पादनका आधारमा विभाग अन्तर्गतका कार्यालय र कर्मचारीहरु सम्मानित
९औँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभाग अन्तर्गतका देश भरीका कार्यालयहरूले आर्थिक वर्ष २०७६-०७७ को कार्य सम्पादन सम्झौता, वार्षिक राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा गरेको उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कनमा तीन वटा कार्यालयहरू उत्कृष्ट घोषणा भएका छन् ।

आन्तरिक राजस्व कार्यालय वाग्लुङ्ग समग्र कार्यसम्पादन ८१.५७ अंक ल्याई प्रथम भएको छ । त्यसैगरी आन्तरिक राजस्व कार्यालय सिमरा ८०.५६ अङ्क प्राप्त गरी दित्तिय भएको छ । यस्तै आन्तरिक राजस्व कार्यालय धुलिखेल ७५.९९ अङ्क प्राप्त गरी तृतीय भएको छ ।

आन्तरिक राजस्व विभाग र विभाग अन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरू मध्ये आ।व। २०७६।०७७ मा उत्कृष्ट कार्य सम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

जसमा आन्तरिक राजस्व विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय वाग्लुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठुला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरे, मध्यम स्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी सैंजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका नायव सुब्बा कुसुम क्षेत्री रहेका छन् ।

(यो समाचार प्रशासन  ८ मंसिर२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links