सोलार पोलको कर नतिर्ने दाउमा पोखरा उद्योग बाणिज्य संघ, अवैध सम्झौता छरपष्ट

पोखरा, १८ साउन । पोखरा उद्योग बाणिज्य संघले पोखरा महानगरपालिकासंग ५ बर्षका लागि भाडामा लिएको ७४ वटा सोलार पोलको भाडा ५ बर्षसम्म नबुझाएसँगै उद्योग बाणिज्य संघका पदाधिकारी र महानगरपालिका बिचको अबैध सम्झौता छरपष्ट भएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ को जिरो किमीदेखि हल्लनचोकसम्मको बाटोमा राखिएका ७४ वटा पोलको भाडा वापतको रकम आजसम्म महानगरपालिकालाई पोखरा उद्योग बाणिज्य संघले बुझाएको छैन ।
२०७३ सालबाट बार्षिक १५ लाख नौ हजार ६०० बुझाउने सर्तमा पोेखरा उद्योग बाणिज्य संघले महानगरपालिकासंग ५ बर्षका लागि सो सोलार पोल भाडामा लिएको थियो ।

महानगरपालिकाको सो सोलार पोलको सम्झौता तत्कालीन महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाको कार्यकालमा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखे तथा महासचिव दामु अधिकारीको कार्यकालमा भएको थियो ।

दामु अधिकारी हाल पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष छन । पोखरा उद्योग बाणिज्य संघको तर्फबाट निर्देशक टोपबहादुर थापा तथा महानगरपालिकाका तर्फबाट बरिष्ठ अधिकृत अनन्त प्रसाद कोइराला, कर अधिकृत शिवहरि शर्मा, इन्जिनियर धु्रव भट्टराई समेतले सो सम्झौतामा हस्ताक्षर रहेको छ ।

बार्षिक १८ लाख रुपैयाको दरले बुझाउनुपर्ने सो रकम पाँच बर्ष बितिसक्दा पनि आजसम्म एक रुपैयाँ महानगरपालिकालाई नबुझाएको पाइएको छ ।

पोखरा महानगरपालिकाको मिति २०७३ पुस २८ गतेको २९ औ नगर परिषदबाट भएको निर्णय मिति २०७३ फागुन २३ गतेको बोर्ड निर्णय बमोजिम पोखरा उद्योग बाणिज्य संघलाई ब्यवसाय करको साझेदारी प्रभावकारी बनाउन तथा बिज्ञापन करमा पनि साझेदारी गर्नका लागि यो सम्झौता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा पोलको प्रति बर्ष पोल रोयल्टी वा भाडा वापत २० हजार ४ सयका रुपैयाँ दरले जम्मा १५ लाख ९ हजार ६ सय रुपैया र बिज्ञापन कर वापत प्रति बर्गफिट रु ७५ का दरले बुझाउनुपर्ने उल्लेख छ ।

त्यस्तै सम्झौतामा प्रति ब्यानर प्रत्येक पोल वापत एक सय रुपैयाँ बुझाउनुपर्ने छ । यसरी पोल तथा बिज्ञापन वापतको रकम पोखरा महानगरपालिका र पोखरा उद्योग बाणिज्य संघको संयुक्त खातामा जम्मा गर्नुपर्ने उल्लेख भएता पनि आजसम्म बैंक खाता पनि खोलिएको छैन ।

महानगरपालिका र उद्योग बाणिज्य संघले न कुनै संयुक्त खाता खालेका छन न त एक रुपैया कर नै लिने दिने भएको महानगरपालिका श्रोत बताउँछ ।

सो बिषयमा पोखरा महानगरपालिका सँग बुभ्दा आफुहरुले बारम्बार उद्योग बाणिज्य संघलाई पत्राचार गरेको बताउँदै आएको छ । महानगरपालिकासंगको सहकार्यमा हाल शर्त बमोजिम काम हुन नसकेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले स्वीकार गरेका छन ।

पोखरा महानगरपालिकाबाट जिम्मा लिएर अर्काे प्राइभेट कम्पनी छाँया एडभरटाइजिङलाई जिम्मा दिएको तर काम पूर्ण रुपमारुपमा सञ्चालन हुन नसकको अधिकारीले बताए । महानगरपलिकाका कर्मचारीले मौखिक तथा लिखित जवाफमा भिन्नाभिन्नै रुपमा काम गर्ने आरोप अधिकारीले लगाएका छन ।

उनले उद्योग बाणिज्य संघको ठेकेदारसँग उठाएको सम्पूर्ण रकम महानगरपालिकालाई बुझाउने भन्दै उद्योग बाणिज्य संघले जिम्मा दिएको ठेकेदारको बचाउ गरेका छन । उनले ठेकेदारले काम गर्न नपाएको कारण देखाउँदै आएका छन ।

बिज्ञापन राख्न तथा पोल प्रयोगमा ल्याउन नसकिएको भन्दै आफुहरुले छाँया एड्भरटाइजिङ्गलाई बारम्बार सम्पर्क गरेको र छिट्टै निकास निकाल्ने बताए ।

यता ५ बर्षसम्म पोखरा उद्योग बाणिज्य संघले जिम्मा लिएको ७४ वटा पोलको कत्ति पनि रकम नउठ्दा पनि महानगरपालिका मौन रहेको छ । ५ बर्ष बित्न लागिसक्दा पनि महानगरपालिकाले पाउनुपर्ने रकम करिब ७५ लाख रुपैयाँ तिर्ने हो कि नतिर्ने हो भन्ने नै अन्यौल भएको छ ।

यसरी पोखरा महानगरपालिकाले ५ बर्ष अगाडि पोखरा उद्योग बाणिज्य संघलाई भाडामा दिएको ७४ वटा पोलको पैसा पोखरा बाणिज्य संघका पदाधिकारी तथा महानगरपालिकाका कर्मचारीको आन्तरिक मिलेमतोमा मिलाइने हो कि तिराएर नै छाड्ने हो हेर्न भने बाँकी नै छ ।

(यो समाचार  न्यूज २४ १८ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links