नाका खुले पनि राजस्व बढेन


चैत ८ गते ।
 चालू आर्थिक वर्ष ०७७÷७८ को दोस्रो चौमास बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात निर्यात अपेक्षित रूपमा बढ्न नसक्दा राजस्व सङ्कलन प्रभावित भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण देखाउँदै चिनियाँ पक्षले नाका अझै सञ्चालनमा ल्याएको छैन ।
यो नाकाबाट निर्यात ठप्पजस्तै भए पनि गत जेठदेखि एकाध चिनियाँ गाडीले सामग्री भने भित्राएका तथ्याङ्कले देखाएको छ । चिनियाँ गाडीले ल्याएको सामग्री नेपाली गाडीमा सार्ने र भन्सार जाँचपास गरेर छोड्ने कार्यबाहेक अरू क्रियाकलाप यो नाकामा देखिएको छैन । जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व सङ्कलन लक्ष्य पनि पूर्ण प्रभावित भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि हालसम्म १८.५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।
नाकाबाट न्यून मात्रामा मात्र सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका मात्र आउँदा राजस्व सङ्कलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडको महामारी सुरु हुनुभन्दा अघिसम्म दैनिक सय वटाभन्दा बढी गाडीमा सामग्री आउँथ्यो । अहिले दैनिक सातवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन् । ”
उहाँका अनुसार गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भए तापनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले केही दिनयता दैनिक सातवटा गाडीमा सामग्री ल्याउने गरेका छन् । रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीबीच भएको छलफलले दैनिक आठवटा गाडीमा सामग्री आउने सहमति भएको थियो ।
आर्थिक वर्ष २०७२÷७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३÷७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५÷७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६÷७७ मा आठ अर्ब २७ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

(यो समाचार गोरखापत्र अनलाइन  ८ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links