सेयरले बढायो कर संकलन

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारबाट मात्र करिब ६ अर्ब ५७ करोड रुपैयाँ कर संकलन भएको छ । यो गत साउनदेखि माघसम्म सेयर बजारका लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले पुँजीगत लाभकर, अग्रिम कर कट्टी, लाभांश र आयकरबापत तिरेको कर हो  ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा संकलित कर करिब ४ सय प्रतिशत (३ सय ८५ प्रतिशत) बढी हो । गत आर्थिक वर्षमा सेयर बजारबाट १ अर्ब ३५ करोड रुपैयाँ मात्र कर उठेको थियो ।
 

यो वर्ष सेयर बजारबाट करमार्फत सरकारलाई गएको रकम हालसम्मकै उच्च हो । अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र रहेकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण करबापतको रकम पनि बढेको जानकारहरू बताउँछन् । आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन भएको थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ७ सय विन्दु हाराहारीमा थियो । आर्थिक वर्ष २०७३/७४ मा यस्तो कर १ अर्ब ८१ करोड रुपैयाँ थियो । सो अवधिमा नेप्से परिसूचक भने केही घटेर १ हजार ५ सय ८२ विन्दुमा थियो ।

चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारका लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ शुद्ध नाफा आर्जन गरेका छन् । उक्त नाफाबाट औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ शुद्ध नाफा आर्जन गरेका थिए । सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ विश्लेषण गरिएको हो ।

चालु आर्थिक वर्ष गत साउनदेखि माघसम्म लगानीकर्ताले सेयर कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । गत आर्थिक वर्षमा पुँजीगत लाभकरबापत ९८ करोड रुपैयाँ मात्र संकलन भएको थियो । चालु आर्थिक वर्षको सात महिनामा लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ । यसअनुसार गत माघसम्म लगानीकर्ताको कुल सम्पत्तिको बजार मूल्य (कुल बजार पुँजीकरण) ३४ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । जबसम्म लगानीकर्ताले नाफा सुरक्षण गर्दैनन्, तबसम्म यो किताबी मूल्यमै रहन्छ । यसकारण उल्लिखित नाफा लगानीकर्ताले सेयर बिक्रीपछि प्राप्त आयबाट कर तिरेपछि बचेको रकम हो ।

चालु आर्थिक वर्षको सात महिनामा नेप्से परिसूचक थप १ हजार १ सय ६४ अंक बढेको छ । यसको अर्थ गत माघसम्म नेप्से परिसूचक २ हजार ५ सय २६.९२ विन्दुमा थियो । गत असार मसान्तमा यो परिसूचक १ हजार ३ सय ६२.३५ अंकमा थियो । सो अवधिमा दैनिक औसत कारोबार पनि उल्लेख्य बढेको छ । गत माघसम्म दोस्रो बजारमा दैनिक औसत कारोबार ४ अर्ब १३ करोड रुपैयाँ छ । गत असार मसान्तमा यस्तो कारोबार ८२ करोड रुपैयाँ थियो ।

पुँजीबजारको इतिहासमा करिब साढे २ दशकपछि नेप्सेले २०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता ५ लाख ९४ हजार मात्र रहेको नेप्सेले जनाएको छ । नेप्सको तथ्यांकअनुसार गत शुक्रबारसम्म ४ लाख ४५ हजार जनाले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिइसकेका छन् । तीमध्ये सक्रिय अनलाइन लगानीकर्ताको संख्या २ लाख २२ हजार रहेको नेप्सेको तथ्यांक छ ।

(यो समाचार  कान्तिपुर २३ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links