बजेटको व्यवस्थाअनुसार राजस्व विभागद्वारा कर छुट दिन शुरु


बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३ सम्म मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका, व्यवसायीको आम्दानी अनुसारको आयकरमा छुट लगायतको विशेष व्यवस्था छ ।

सोही व्यवस्थालाई आन्तरिक राजस्व विभागले कार्यान्वयन गर्न थालेको हो । विभागले आर्थिक अध्यादेशबाट प्रदान गरिएको कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जारी भएको मिति २०७८ जेठ १५ गतेदेखि लागू भएको जनाएको छ । 

मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिइ कर तिरेमा कर छुट तथा सहुलियत हुने विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । सेवाग्राहीले आन्तरिक राजस्व विभाग तथा करदाता कार्यालयमा सम्पर्क गरेर सुविधा लिन सकिने विभागको भनाइ छ ।  तर दफा २८ को कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा ९० प्रतिशतसम्म छुट दिने व्यवस्था भने आगामी साउनदेखि लागु हुने विभागले स्पष्ट पारेको छ । 
 

यस दफाको उपदफा १ मा २० लाख रुपैयाँ सम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था छ भने उपदफा दुईमा २० लाखदेखि माथि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ । 
यस्तै उपदफा ३ मा एक करोडसम्म कारोबार भएको व्यवसायीले आयकरमा ५० प्रतिशत छुट र उपदफा ४ मा  होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ । 

तर, पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधि तीन वर्ष थपिएको छ । 


(यो समाचार  रातोपाटी  १८जेठ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links