पेट्रोल-डिजलबाट मात्रै वर्षमा एक खर्ब कर असुल्छ सरकार, तर जनता सधैं मारमा

काठमाडौं । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेअनुसार नेपालमा पनि मूल्य बढेको बढ्यै छ । इन्धनमा मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुदेखि पूर्वाधार निर्माणसम्मको लागत बढेको छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् ।

नेपालमा पट्रोलियम पदार्थ अत्यधिक महँगो हुनुमा त्यसमा सरकारले थोपरेको करको भार प्रमुख कारण हो । कर कटौती गरे पेट्रोलियम पदार्थ केही सस्तो हुन्थ्यो । तर राजश्वको लोभले सरकारले त्यो सुझावसमेत लत्याउँदै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउनेताका नेपाल राजश्व परामर्श समितिले पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको करकट्टी गर्न सुझाव दिएको थियो । त्यो सुझाव नेपाल आयल निगमले अर्थ मन्त्रालयमा पठायो तर कार्यान्वयन भएन ।

करको भार
सरकारले डिजल र पेट्रोलमा मात्रै ६ किसिमका कर लगाउँछ । निगमले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर र आयकर शीर्षकमा सरकारले कर उठाउने गरेको छ । त्यसमा ढुवानी खर्चसमेत जोडेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरी उपभोक्तालाई बेच्छ ।

उच्च दरका कर तथा शुल्कहरुको मार सोझै जनतामा परिरहेको छ । नेपाल आयल निगमले अहिले सहिरहेको घाटाको बोझ पनि सरकारले घुमाउरो रुपमा उपभोक्तामाथि नै थोपरिरहेको छ ।

भारतीय आयल कर्पोरेसनसँग ९३ रुपैयाँ ७६ पैसामा किनिएको पेट्रोलमा सरकारले प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा कर लगाउँछ । ८४ रुपैयाँ १२ पैसामा किनेको डिजलमा ४२ रुपैयाँ १६ पैसा र ८८ रुपैयाँ २३ पैसामा किनिएको मट्टितेलमा १३ रुपैयाँ ३६ पैसा कर उठाउँछ । एक सिलिन्डर ग्याँसमा प्रतिसिलिण्डर १८० रुपैयाँ ३० पैसा राजस्व उठाइन्छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सरकारले पेट्रोलियम पदार्थबाट ९८ अर्ब ५२ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत वर्ष निगम ३ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो । तर, त्यही वर्ष सरकारले पेट्रोलियम पदार्थबाट गरेको राजस्व आम्दानी इतिहासकै उच्च थियो ।

चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन-माघ)कै अवधिमा पनि पेट्रोलियम पदार्थबाट सरकारले पाउने राजस्व आम्दानी ७० अर्ब रुपैयाँ नजिक छ । माघसम्म एक खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ६९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बराबर राजस्व सरकारी खातामा जम्मा भएको भन्सारको विवरणमा देखिन्छ ।

लगातार बढेको मूल्यका कारण पेट्रोलियमको बजार भाउ हालसम्मकै उच्च विन्दुमा छ । पछिल्ला केही दिनदेखि पेट्रोलियम पदार्थको कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेपछि मूल्य झनै बढ्ने आयल निगमको प्रक्षेपण छ । एक वर्षदेखिको निरन्तरको मूल्य वृद्धिले पिरोलिएका उपभोक्ता अझै महँगीको मारमा पर्ने निश्चित छ । तर, सरकार भने करको दर पुनरावलोकन गर्ने योजनामा छैन ।

निगमलाई अहिले घाटा भएपनि भविष्यमा मूल्य घट्दा पनि उच्च नाफा राखेर त्यसलाई पूर्ति गर्ने दाउ सरकारको छ । विगतमा पनि निगमले मूल्य घट्दा नघटाउने र बढ्दा मात्रै बढाउने गरिरहेको थियो ।

इन्धनमा करको भार थोपर्न कहिलेदेखि सुरु भयो ?

उच्च नाफा राखेर तेल बेचेकाले आर्थिक वर्ष २०७२/०७३ मा नेपाल आयल निगमले १९ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । सो वर्ष पेट्रोलियम पदार्थको आयातबाट सरकारी खातामा भन्सार बिन्दुबाटै सरकारले २३ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाएको थियो । त्यसयताका चार वर्षसम्म निगम निरन्तर नाफामा थियो र बढ्दो आयातका कारण सरकारले लिने राजस्व पनि त्यसैअनुसार बढ्दै गयो ।

सरकारले पेट्रोलियम पदार्थलाई कर सजिलै बढाउन सकिने वस्तुका रुपमा प्रयोग गर्ने क्रम चुलियो । २०७३ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोल, डिजेलमा विभिन्न शीर्षकमा करको भार थोपर्न सुरु गरेको थियो ।

बुढीगण्डकी आयोजनाका लागि भन्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेेलले बजेटमार्फत डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर उठाउने घोषणा गरेका थिए । आफ्नो कर योगदानले जलविद्युत आयोजना बन्ने आशमा जनताले त्यसको विरोध गरेका थिएनन् ।
आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थमा सडक मर्मत कर पनि लगाउन सुरु गरेका थिए । सुरुमा एक-एक रुपैयाँ भनिए पनि पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा २ रुपैयाँ प्रतिलिटरका दरले यस्तो कर उठाइँदै आएको छ ।

आर्थिक वर्ष २०७६/७७मा नै लक्ष्यअनुसार कर नउठ्ने देखेपछि १२ फागुन २०७६मा मन्त्रिपरिषद बैठकले इन्धन -पेट्रोल, डिजेल र हवाई इन्धनमा) प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लिने निर्णय गर्‍यो । गत आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत खतिवडाले फेरि पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले बढाएका थिए । तर, सोही वर्षमा निगमले ३ अर्ब ५७ करोड नोक्सानी बेहोर्दा सरकारी खातामा ९८ अर्ब ५२ करोड राजस्व जम्मा भयो ।

चालु आवको ७ औ ंमहिनासम्म आईपुग्दा निगम मासिक करिब ५ अर्ब घाटा सहनुपर्ने अवस्थामा पुगेको छ । आव २०७२/२०७३ देखि चालु आवको माघसम्म सरकारले पेट्रोलियम पदार्थबाट मात्रै ४ खर्ब २७ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो वर्ष घाटामा अत्तालिएको निगमले पनि नाफा भएको आफ्ना शेयर सदस्यहरु नेपाल राष्ट्र बैंक, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय विमा संस्थान, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकहरुलाई अर्बका दरमा लाभांश बाँडेको थियो । माग्नासाथ बिक्रेताको कमिसन पनि बढाएको थियो ।

सरकारले राजस्व, निगमका सबै हिस्सेदारले लाभांश, विक्रेताले थप कमिसन र निगमका कर्मचारीले बोनस पाउँदा उपभोक्ताको भागमा सधैं मूल्यवृद्धि र महँगी नै परिरह्यो ।

किन घट्दैन कर ?

आव २०७८/०७९ को बजेट तयारीको बेला नेपाल राजश्व परामर्श समितिले सरकारलाई पेट्रोल, डिजेल र एलपी ग्याँसको करकट्टी गर्न सुझाव दिएको थियो । क्षेत्रगत र विषयगत राजश्वका सुझाव अन्तर्गत समितिले भनेको थियो ‘पेट्रोल, डिजेल र एलपी ग्याँसको करकट्टी गर्नू ।’

गत वर्षको माघदेखि नै पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएका कारण आउन सक्ने चुनौती चिर्न आयल निगमले बजेटकै सन्निकट इन्धनको कर घटाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्‍यो । निगम बोर्डका एक सदस्यका अनुसार लिटरमा पाँच रुपैयाँ कर घटाउन बोर्डले मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, सरकारले कुनै सुझाव तथा सिफारिसलाई ग्रहण नगरेको उनले बताए ।

सरकारी खर्चको मुख्य आम्दानीको स्रोत मध्येको एक पेट्रोलियम पदार्थको राजश्व भएका कारण यसमा टसमस हुने अवस्था नरहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । ‘सुझाव र सिफारिस धेरै भएका छन्, चालु खर्च नै धान्न पनि यो रकमलाई घटाउन सक्ने अवस्था छैन,’ ती अधिकारीले भने, ‘चालु आवमा २ खर्ब ९३ अर्ब भन्सार राजश्व उठ्दा ६९ अर्ब पेट्रोलियमको योगदान छ । यसलाई कुनै हालतमा गुमाउन सरकार चाहँदैन ।’

(यो समाचार  अनलाइन खबर २३ फागुन २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links