सरकारको ध्यान राजस्व संकलनमा मात्रै, खर्चमा असफल

अर्थमन्त्रालयलाई निजी क्षेत्रले बोलीचालीको भाषामा राजस्व मन्त्रालय भन्न गर्छन् । किनकि अर्थमन्त्रालय निजी क्षेत्रको बुझाइमा राजस्व संकलनमा बढी नै सक्रिय रहन्छ । वास्तवमा यो सही नै उपमा हो । अर्थमन्त्रालयको एउटा महत्वपूर्ण कार्य मुलुकका लागि स्रोतको सुनिश्चितता गर्नु नै हो । पछिल्लो दशकमा मुलुकको मुहार नै फेर्ने आर्थिक नीति ल्याउने त परैको कुरा भो, एउटा निश्चित फम्र्याटमा बजेट ल्याउने र राजस्व परिचालनमा ध्यान दिने कार्य अर्थमन्त्रालयले गर्दै आएको छ । सरकारका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने कार्यमा अर्थमन्त्रालय लगभग सफल मान्न किन पनि सकिन्छ भने केही आव छोडेर लक्ष्यअनुरूप राजस्व संकलन भएको छ । यसमा अर्थमन्त्रालयलाई निजी क्षेत्रको पनि ठूलो साथ र सहयोग रहँदै आएको छ । गत वर्षको कोरोना कहरको पहिलो लहरमा पनि निजी क्षेत्रले कर तिरेर सरकारलाई सहयोग गरेकै हो, भलै उद्योग–व्यवसाय तथा व्यापारमा चार महिनाभन्दा बढी नै बन्दाबन्दी थियो । हाल दोस्रो लहरको बेलामा पनि निजी क्षेत्रले सरकारलाई कर तिर्न कन्जुस्याइँ गरेको छैन, जसका कारण गत साताको अन्त्यसम्ममा सरकारले ९ खर्ब ३० अर्बभन्दा बढी राजस्व संकलन गरिसकेको छ । जुन सरकारको संशोधित कोरोना कहरकै बीच आएको चालू आवको बजेटमा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँबराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कोरोना कहरका कारण भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी आउँदा सरकारले लक्ष्य संशोधन गरी कर राजस्व मात्र ९ खर्ब १२ अर्ब बनाएको थियो । कर राजस्वमा सरकार सफल भए तापनि गैरकर राजस्वमा भने सरकारलाई सहज भएको छैन । यदि गैरकर राजस्वमा पनि कमी नआएको भए सरकारले लक्ष्यभन्दा बढी नै राजस्व परिचालन गर्न सक्ने थियो । यसरी हेर्दा सरकार राजस्व परिचालनमा चालू आवमा सफल देखिने भएको छ । बन्दाबन्दी तथा निषेधाज्ञाका कारण भ्रमण भिसा, पासपोर्ट, ट्रेकिङलगायत समग्र पर्यटन क्षेत्रबाट आउने राजस्व शून्यजस्तै भयो ।
तर, राजस्व परिचालन गरेझैं स्रोत परिचालन गर्न भने सरकार असफल रहँदै आएको छ । करिब दुई तिहाइको इतिहासकै सबैभन्दा बलियो केपी शर्मा ओलीको सरकारले आफ्नो पहिलो वर्षदेखि नै खर्च गर्न भने पूर्णतः असफल रहेको छ । खर्च गर्ने कार्यमा अर्थमन्त्रालयभन्दा पनि विकासे भनिने मन्त्रालयहरूको भूमिका महत्वपूर्ण रहन्छ, जसका कारण चालू आवमा पनि सरकारको पुँजीगत खर्च ६० प्रतिशतभन्दा बढी नहुने देखिएको छ । सरकारले शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको छ । सरकारले चालू आवमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो, तर आर्थिक वर्षको अन्त्य हुन पाँच दिन बाँकी रहँदा १ खर्ब ९२ करोड खर्च गरेको छ । चालू आव सकिन पाँच दिन बाँकी रहँदा सरकारको खर्च नबढ्नुमा अर्थमन्त्रालय दोषी नभए तापनि बजेट बनाउँदा के आधारमा ठूलो बजेट बनायो भन्ने प्रश्न चाहिँ उठ्छ नै । अर्थमन्त्रालयले नै २० प्रतिशतभन्दा बढी बजेट असारमा खर्च नगर्ने नियम बनाएको थियो, तर त्यसको पालना भएको पाइन्न । यसरी बजेटरी तथा वित्तीय अनुशासन पालना नगर्दा पनि सरकारले आफ्नो लक्ष्यअनुसारको खर्च गर्न नसक्नु भनेको सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएको कारण हो । साथै, असारको अन्तिम सातामा खर्च हुनु भनेको धेरै अर्थमा बजेटको दुरुपयोग पनि हो । किनकि खर्च हुनुमा ठूलो कुरा होइन, गरेका कार्य गुणस्तरीय भयो कि भएन, त्यो महत्वपूर्ण कुरा हो । साथै, सरकारी नियमअनुसार असार २५ गतेदेखि सामान्य खर्चका लागि चेक काट्न पाइन्न । तर, विशेष कार्यक्रमका नाममा असार ३१ गतेसम्म नै चेक काट्ने गरेको पाइन्छ । त्यस्तै, सरकारले वित्तीय अनुशासन मिचेर रकमान्तरजस्ता कार्यमा पनि अंकुश लगाउन सकेको छैन ।

(यो समाचार कारोबार दैनिक २७ असार २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links