एनसेलको स्वदेशी लगानीतर्फको ८ अर्ब २२ करोड लाभकर छली भएको महालेखा परीक्षकको ठहर, छानविन गर्दै कर कार्यालय

काठमाडौं । ठूला करदाता कार्यालयले एनसेलको स्थानीय लगानीतर्फको लाभकरको विषयमा छानविन अगाडि बढाएको छ । कम्पनीको स्वदेशी लगानीकर्तासँग रहेको २० प्रतिशत शेयर खरीद बिक्रीको विषयमा छानविन सुरु भएको हो ।
२०७२ मा स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दाको लाभकरको विवाद हालसालै मात्र मत्थर भएको छ । तर कारोबार रकम कम देखाई कर छलीको योजना बनाएको भन्दै स्थानीय लगानीकर्ताको कारोबारमा उठेको प्रश्न भने साम्य भइसकेको छैन । 

हालै राष्ट्रपति समक्ष बुझाइएको महालेखा परीक्षकको ५७ प्रतिवेदनले कर मुक्तिको योजना बनाएको भन्दै आयकर ऐन २०५८ को उपदफा ३५ अनुसार छानबिन गरी कर निर्धारण गर्नुपर्ने व्यहोरा औँल्याएको हो ।
ऐनको दफा ४० (२) मा कुनै व्यक्ति दायित्वको भारबाट हटेमा निजले सो दायित्व निसर्ग गरेको मानिने व्यवस्था छ । दायित्वको निसर्गमा दायित्व फर्छ्यौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिने जस्ता कार्य समेत समावेश गर्नुपर्ने हुन्छ । 

ऐनकै दफा ७ (२) (ग) परिच्छेद ८ अनुसार गणना गरिएको कुनै व्यावसायिक सम्पत्ति वा दायित्व निसर्गबाट प्राप्त खुद लाभ सो व्यक्तिले सोही वर्ष प्राप्त गरेको मानिने उल्लेख छ । त्यस्तै दफा २७ (१) (क) मा कुनै व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी भुक्तानी गरिएको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्रमाणीकरण हुनुपर्ने  व्यवस्था छ । 

२०७२ चैत २६ गते एनसेलको ८० प्रतिशत शेयर स्वामित्व १ खर्ब ८० अर्ब ९८ करोड ३७ लाख ६४ हजार रुपैयाँमा मलेसियाको एक्जिएटा ग्रुपले किनेको थियो । त्यसअनुसार कम्पनीको २० प्रतिशत शेयरको बिक्री मूल्य ३६ अर्ब १९ करोड ६७ लाख ५३ हजार रुपैयाँ हुनुपर्ने महालेखा परीक्षकको ठहर छ ।

तर उक्त बिक्रीमा पूँजीगत लाभको आय विवरण पेश गर्दा बिक्रेता निरज गोविन्द श्रेष्ठले ११ अर्ब ५७ करोड ६० लाख रुपैयाँमा उक्त शेयर बिक्री गरेको भन्दै त्यसैअनुसारको लाभकर तिरेका थिए । तर खरिदकर्ता क्यापिटल भेञ्चर (भावनासिंह श्रेष्ठ) ले उक्त शेयर तीन अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँमा खरिद गरेको उल्लेख गरी लगानी देखाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यसरी एउटै शेयरको कारोबार विवरण पेश गर्दा बिक्रेता र क्रेताबीच ८ अर्ब २६ कोरोड ३५ लाख ८५ हजार रुपैयाँ अन्तर देखिएको थियो । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसमा बजारमूल्यका आधारमा प्रमाणीकरण गर्दा हुने आयमा २५ प्रतिशतले हुन आउने कर दुई अर्ब छ करोड ५८ लाख ९६ हजार रुपैयाँ असुल गर्नुपर्ने हुन आउँछ ।’

यसैगरी एनसेलको सोही २० प्रतिशत शेयर कारोबारमा बिक्रेताको कर निर्धारण गर्दा ठूला करदाता कार्यालयले ३६ अर्ब १९ करोड ६७ लाख ५३ हजार बिक्री कायम गरेको छ । जसआधारमा ३२ अर्ब ८८ करोड ४३ लाख ३८ हजार फरक हुन आउने महालेखा परीक्षकको भनाई छ । 

‘सो रकममा २५ प्रतिशतले आठ अर्ब २२ करोड १० लाख ८४ हजार कर लाग्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

(यो समाचार  टेकपाना १८ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links