निषेधाज्ञामा कर तिर्न निजीक्षेत्रलाई ताकेता



काठमाडौं । स्थानीय प्रशासनहरूले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञाका कारण उद्योग–व्यवसाय निर्बाध सञ्चालन हुन नसकिरहेका बेला निजीक्षेत्रलाई कर तिर्न दबाब पर्न थालेको छ ।

अर्थ मन्त्रालयले निषेधाज्ञाका कारण कर तिर्ने समय पर नसार्दा कर कार्यालयहरूले उद्योगी–व्यवयायीलाई समयमै तिर्न ताकेता गर्न थालेका हुन् ।

आन्तरिक राजस्व विभागले भदौ ७ गतेभित्र कर तथा विवरण बुझाउन सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार यो महीनाभित्र कर तथा विवरण दाखिला गर्ने म्याद बाँकी रहँदै नबुझाए जरीवान लाग्ने विभागका महानिर्देशक विनोदबहादुर कुँवर बताउँछन् ।

उनका अनुसार म्याद थपबारे अहिलेसम्म अर्थले कुनै निर्णय नगरेकाले निषेधाज्ञाको बहाना बनाएर कर भुक्तानी नगर्ने छूट कसैलाई छैन । ‘कर तिर्न कर कार्यालय आउनै पर्दैन, मोबाइल, बैंकबाट पनि कर बुझाउन सकिन्छ । निषेधाज्ञाको बहानाबाजी कसैले बनाउनु हुँदैन,’ उनले भने ।

कुँवरका अनुसार केही व्यवसायीले कर तिर्ने समय थपका लागि आग्रह गरे पनि अर्थबाट कुनै निर्णय भएको छैन ।
नेपाल चेम्बर अफ कमर्शका अनुसार निषेधाज्ञा विगतको बन्दाबन्दी कडिकडाउ रहेकाले कतिपय करदाताले राजस्व दाखिला गर्न पाएका छैनन् ।

व्यवसायका समस्त खातापाता कारोबार स्थलमै रहेको, निषेधाज्ञाका कारण कारोबार स्थलमा पुग्न सम्भव नभएकाले विद्युतीय माध्यमबाट पनि कर तथा विवरण पेश गर्न सकिने अवस्था नरहेको हुँदा सरकारले म्याद थप गर्नुपर्ने चेम्बरको सुझाव छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ निजीक्षेत्र राजस्व दाखिला सम्बन्धमा सहयोगी भूमिका निर्वाह गर्दै आएको बताउँछन् । निषेधाज्ञा हटेको मितिले २ महीनाभित्र कर तथा विवरण दाखिला गर्न पाउने व्यवस्था सरकारले गरिदिए मात्र केही सहज हुने उनको तर्क छ । उक्त अवधिमा कुनै प्रकारको जरीवाना नलिने व्यवस्था गर्न अनुरोध गर्दै चेम्बरले अर्थ मन्त्रालयका राजस्व सचिवको ध्यानाकर्षण गराएको छ ।

चारमहीने बन्दाबन्दी खुलेयता सुध्रिएको सरकारको राजस्व संकलन पछिल्लो निषेधाज्ञाका कारण पुनः संकुचनमा आएको थियो ।

सरकारले साउनको पहिलो साताबाट बन्दाबन्दी हटाएसँगै चालू आर्थिक वर्षको पहिलो महीना राजस्व असुली लक्ष्यनजीक पुगेको थियो । तर, राजधानी काठमाडौंसहित मुलुकका प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रहरू अहिले निषेधाज्ञामा रहेकाले राजस्व संकलन खस्किएको राजस्व प्रशासनका अधिकारीहरू बताउँछन् ।

ठूला करदाता कार्यालयका प्रमुख बाबुराम गौतमका अनुसार कर तिर्न कर कार्यालयमै धाउनुपर्ने बाध्यता नरहे पनि निषेधाज्ञा बीचमा कर तिर्नेको संख्या न्यून छ ।

अहिलेसम्म कर संकलन अवस्था उत्साहजनक नदेखिए पनि म्याद थप नगरिएकाले यो महीनाको अन्तिमसम्म बढ्न सक्ने उनको दाबी छ ।

(यो समाचार  आर्थिक अभियान २२ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links