उद्योगी–व्यवसायीको एकै स्वर : ‘कर तिर्ने भाखा सारिदेऊ’

अप्ठ्यारो अवस्थामा कर तिर्न नसक्नेलाई सरकारले  राहत दिनुपर्छ –शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
हामीलाई निषेधाज्ञा खुलेपछि एक महिना समय चाहिन्छ –सतीश मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ
निषेधाज्ञा खुलेकै भोलिपल्ट कर तिर भन्नु उचित भएन –राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष, चेम्बर अफ कमर्स

काठमाडौँ — उद्योगी व्यवसायीहरूले कर तिर्ने समय सारिदिन सरकारसँग माग गरेका छन् । लकडाउन एवं निषेधाज्ञाले उद्योग व्यवसाय धरापमा परेको र कारोबार ठप्प रहेकाले यस्तो माग गर्नुपरेको उनीहरूको भनाइ छ । आन्तरिक राजस्व विभागको नियमित प्रक्रियाअन्तर्गत करदाताले प्रत्येक महिनाको २५ गतेसम्म अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्छ । उक्त समयमा शुल्क नबुझाए ब्याज तिर्नपर्छ । तर यति बेला अवस्था सहज नभएकाले कर तिर्ने समय थपिदिन भनेको व्यवसायीहरूले बताए ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग गरेको छलफलमा पनि निजी क्षेत्रका प्रतिनिधिले करको भाखा सार्न माग गरेका थिए । ‘भदौ २४ सम्म निषेधाज्ञा नै भयो । सवारी चलेनन् । मान्छेहरू हिँडेका छैनन्, काम गर्ने वातावरण पनि छैन । उद्योगले दिएका सामानको पैसा आएको छैन,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले भने, ‘यस्तो अवस्थामा कर तिर्न सम्भवै छैन । निषेधाज्ञा खुकुलो भएपछि एक महिनासम्मको म्याद दिनुपर्छ ।’ साना व्यवसायीले तिर्न नसके राहतको प्याकेजसमेत दिनुपर्ने उद्योगीहरूको भनाइ छ । ‘निषेधाज्ञाको चपेटामा सबै परेका छन् । सरकारले जरिवानाको डर देखाएर हुँदैन,’ उनले भने, ‘गाउँ/जिल्लाबाट आउनुपर्ने पेमेन्ट आएको छैन । जबर्जस्ती गरे अन्याय हुन्छ । सबै कुरा न्यायोचित हुनु जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ पनि उस्तै छ । लामो समयको लकडाउन अनि निषेधाज्ञाले व्यवसायीको पैसा उठ्न नसकेको उनको भनाइ छ । ‘बजारबाट पैसा उठेको छैन, कर कसरी तिर्ने ? अहिलेको अप्ठ्यारो अवस्थामा जसले तिर्न सक्छन्, तिनले तिर्ने व्यवस्था गर्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘जसले सक्दैन, उसलाई सरकारले केही राहत दिनुपर्छ । ती व्यवसायीहरूलाई कर तिर्न केही समय दिनुपर्छ । सरकारले केही राहत दिनुपर्छ ।’ केही दिनअघिको भेटमा उद्योगी व्यवसायीले गरेको आग्रहलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्रीले बताएको उनले बताए । ‘एक/दुई दिनमा समय थपको निर्णय आउनेमा विश्वस्त छु,’ गोल्छाले भने ।

व्यवसायीका अनुसार अघिल्लो महिनामा संकलित कर हरेक महिनाको २५ गतेभित्र बुझाउनुपर्छ । कर नबुझाए चक्रवर्ती ब्याज लाग्छ । जति ढिला गर्‍यो, त्यति नै ब्याज बढ्दै जान्छ । ‘साउनको कारोबार कर भदौ २५ भित्र बुझाउनुपर्छ । निषेधाज्ञा खुलेकै भोलिपल्ट कर तिर भन्नु उचित भएन,’ चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने, ‘विषम परिस्थितिमा सरकारले हेर्नुपर्छ । उद्योगी व्यवसायीलाई राहत पनि नदिने अनि उल्टै ब्याज/जरिवानाले थिचेर मार्ने अवस्था आए उद्योगीहरू उठ्न सक्दैनन् । असुली हुनैपर्छ, तर समय थपदिनुपर्छ ।’ सरकारले टेलिकम, बैंक, इन्स्योरेन्सलगायत ठूला व्यवसायीलाई मात्रै हेरेर नहुने उनको भनाइ छ ।

लकडाउनका बेला सरकारी कर्मचारीलाई तलब खुबाउन गाह्रो हुँदा व्यवसायीले अग्रिम कर बुझाएका थिए । उनीहरूले संस्थागत रूपमै निर्णय गरेर कर तिर्न आग्रह गरेका थिए । अहिले व्यवसायीहरूकै अवस्था कठिन भएकाले म्याद थप्नुको विकल्प नभएको वरिष्ठ उपाध्यक्ष मल्लले बताए । ‘कम्पनीका कर्मचारी गाउँबाट आउन सकेका छैनन् । राजधानीका ठूला घरानालाई मात्रै हेरेर हुँदैन,’ उनले भने, ‘साना एवं मझौला उद्योगलाई पनि हेर्नुपर्छ । त्यही भएर चेम्बरको स्पष्ट अडान छ । यस्तो अवस्थामा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ ।’

यता आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले भने कर तिर्ने समय थपबारे केही निर्णय नभएको जानकारी दिए । प्रत्येक महिनाको २५ गतेसम्म कर तिर्ने ऐननियममै उल्लेख भएको उनको भनाइ छ । ‘कर तिर्ने म्याद लम्ब्याउन माग आउनु ठिकै हो,’ उनले भने, ‘तर निर्णय भइसकेको छैन । असारको सल्टिएको छ । साउनको हकमा केही निर्णय भइसकेको छैन ।’

(यो समाचार  कान्तिपुर २५ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links