कहाँ खर्च गर्ने सवारीसाधन कर ?

सवारीसाधन करबापतको आम्दानी तोकिएबमोजिम खर्च गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले स्थानीय तहलाई सुझाव दिएको छ ।
स्थानीय तहले प्रदेश विभाज्य कोषबाट प्राप्त गर्ने सवारीसाधन कर बाँडफाँडबाट आउने रकम सडक निर्माण तथा मर्मत र वन तथा वातावरण संरक्षण र सम्वद्र्धनमा खर्च गर्न सुझाव दिएको हो । आयोगले सवारी साधन कर मुख्य गरी सडक निर्माण तथा मर्मत एवम् वातावरणीय प्रदूषण कम गर्नका लागि उठाइने भएकाले सवारी साधन करको हिस्सा प्राप्त गर्ने स्थानीय तहले संरक्षण गर्नुपर्ने आयोगको सुझाव छ ।
आयोगले चालू आर्थिक वर्ष २०७७-०७८ को लागि बनाएको सवारी साधन कर बाँडफाँडको लागि तीन वटा सूचकहरू बनाएको थियो । जसमा जनसंख्या, सडकको लम्बाइ र वनले ढाकेको क्षेत्रफल छन् । यसको लागि ०६८ सालको जनगणनाबाट जनसंख्याको हिसाब गरिएको थियो भने सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभागबाट सडकको लम्बाइ र वन तथा वातावरण मन्त्रालयबाट वनले ढाकेको क्षेत्रफलको विवरण लिइएको थियो ।
एनएनआरएफसीले जनसंख्याको लागि ४५, सडकको लम्बाइको लागि ५० प्रतिशत र वनले ढाकेको क्षेत्रफलको लागि ५ प्रतिशत भार प्रदान गरेको प्रवक्ता कृष्णबहादुर बोहराले बताए ।
सवारी साधन कर प्रदेशले संकलन गरी स्थानीय तहलाई प्रदान गर्छ । प्रदेश विभाज्य कोषमा जम्मा भएको सवारी साधन कर रकममध्ये ६० प्रतिशत रकम प्रदेश सरकारलाई र ४० प्रतिशत रकम सम्बन्धित प्रदेश भित्रका स्थानीय तहलाई बाँडफाँड गनुपर्र्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ६(२) मा उल्लेख छ । तथापि संविधानको अनुसूचीमा सवारी साधन कर प्रदेश र स्थानीय तहको दोहोरो अधिकार रहे पनि उक्त करको दर निर्धारण तथा संकलन प्रदेशले गर्ने व्यवस्था उक्त ऐनको दफा, ५ (१.क) व्यवस्था छ । ऐनको यस दफाले एकल कर प्रशासनको व्यवस्था गरेको छ ।
यदि कुनै सवारी साधन सम्बद्ध स्थानीय जनताले प्रयोग गर्दछन् भने उक्त सवारी साधन प्रयोगबाट सिर्जना हुने असरका भागिदार पनि त्यहाँका जनता हुने आयोगले जनाएको छ । आयोगका अनुसार उक्त क्षेत्रमा सञ्चालन रहने सवारी साधनहरुबाट संकलन हुने सवारी साधन करमा सोही क्षेत्रमा रहने प्रभावित जनताको अधिकार हुने हुँदा सवारी साधन करबाट उठेको राजस्वको बाँडफाँडको प्रमुख आधार स्थानीय तहको कुल जनसंख्यालाई मानी उक्त जनसंख्याको अनुपातलाई ४५ प्रतिशत भार दिइएको हो ।
यस्तै सडक सञ्जाल अधिक भएको क्षेत्रमा सवारी साधनको चाप बढी हुने, ध्वनी तथा वातावरण प्रदुषण पनि बढी हुने र सडक निर्माण तथा मर्मत सम्भार लगायतका कार्यमा खर्च पनि बढी लाग्ने हुनाले प्रदेश भित्र भएको कुल सडक लम्बाइसँग प्रत्येक स्थानीय तहको सडकको लम्बाइको अनुपातलाई ५० प्रतिशत भार दिइएको आयोगले जनाएको छ । सवारी साधनबाट उत्पादन हुने कार्बनजन्य प्रदुषणबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई न्युनीकरण गर्न वनको महत्व भएको र वित्तीय समानीकरण अनुदानलाई पनि वातावरण मैत्री रूपमा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै आयोगले सवारी साधनबाट उत्सर्जन हुने कार्बन प्रशोधन गर्न सघाउ पु-याउन स्थानीय तहमा वनले ढाकेको क्षेत्रको अनुपातलाई ५ प्रतिशत भार दिएको छ । तर यो भार अन्य भारको तुलनामा निकै कम देखिन्छ । वन संरक्षण गर्न स्थानीय समुदायको भूमिका भएपनि वनले ढाकेको क्षेत्रको लागि विनियोजन गरेको भार अन्य भारको तुलनामा न्यून छ ।
आयोगले चालू आवको लागि प्रदेश नम्बर १ बाट प्राप्त ८२ करोड ७९ लाख ५० हजार, प्रदेश नम्बर २ बाट ८० करोड, बागमती प्रदशेबाट ३ अर्ब ३० करोड रुपैयाँ अनुमानित गरी प्रदेशभरका स्थानीय तहमा बाँडफाँडको सिफारिस गरेको हो । यसैगरी गण्डकी प्रदशेबाट ४० करोड, लुम्बिनी प्रदेशबाट ७२ करोड, कर्णाली प्रदेशबाट ४ करोड ४४ लाख ४८ हजार र सुदूरपश्चिम प्रदेशबाट २० करोड रुपैयाँ अनुमानित गरी सोही आधारमा प्रदेशभरका स्थानीय तहलाई बाँडफाँडको सिफारिस गरेको हो ।

(यो समाचार  कारोबार २४ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links