भाङ्ग खाएर संविधान नपढ्नु

... by in Nepal Taxकर कथा
हुन त नेपालले गाँजा भाङ्गमा प्रतिवन्ध लगाएकै दुई पुस्ता भैसक्यो । तर के गर्नु लागु औषधमा वर्गिकरण भएकाले होला, राजधानीकै खाली ठाउँ र खाली सरकारी जग्गामा जतासुकै गाँजाका बोटले भरिएका छन् । यसो डाँडातिर गएर भदौ असोजमा उपत्यकाको खाल्डो हेर्‍यो भने पहिला पहिला त धान झुलेको हरियाली देखिन्थ्यो अहिले त कि अस्तव्यस्त घर कि त गाँजाकै हरियाली देखिन्छ ।

कर छुटको सूचिमा नपरेकाले भाङ्ग गाँजामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि लाग्दछ आयकरको दर पनि २५ प्रतिशत मात्रै हो । अन्तःशुल्क लाग्दैन । यतिमात्र कहाँ हो र? गाँजा भाङ्ग व्यापार गरेको कागजात हेर्ने कर अधिकृतलाई मूल्य अभिवृद्धि कर ऐनको दफ ३७ र आयकर ऐनको दफा ८४ बमोजिम यो व्यापारको सुइको कसैलाई दिन पनि पाउँदैन दिएमा जरिवाना र कम्तिमा जेल पक्का ।

संसर्गजना गुण दोषः भवन्ति, नयाँ शुत्र बनाएर भाङ्गेले पनि यही निःशुल्क भाङ्गको कहिले पात कहिले डाँठ त कहिले चोप चुपके चुपके खान सिकेछ,कुसङ्गतमा परेर । शिवले मिल्ने शिवभक्तले नमिल्ने पनि त होइन । कानूनमा जे भए पनि उसलाई बाल मत्लव,पुलिसले नपक्रेसम्म त गैरकानूनी हुने नि होइन त । आखिर भाङ्गे विश्वविद्यालयको कानूनको विद्यार्थी न थियो,उसले जति कानून पढ्न सक्ने जान्ने कमै हुन्थे ।
थोरै खाएमा खासै लाग्ने पनि त होइन । पढ्न बस्नु अगाडी तयारी स्वरुप भाङ्गेले थो…..रै भाङ्ग सर्क्याएछ ।
***
जनताले जनताकालागि जनतामार्फत उर्फ भाङ्गेले भाङ्गेकालागि भाङ्गेमार्फत लेखिएको नेपालको संविधानको अन्तिम अनुसूचिबाट वाचन शुरु,पुराण वाचन गरे जस्तै गरी - संघ,प्रदेश र स्थानीय तह तीनवटै संसदले कानून बनाउन पाउने साझा सूचिको अधिकार ।
'अनुसूचि ९ साझा अधिकार सूचिप्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी बुँदा नं ६'
'अनुसूचि ९ साझा अधिकार सूचिप्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी बुँदा नं १४'
दुई दुई पल्ट भट्यायो,बिर्सिएला नसुनिएला भनेर दोहोर्‍याइ दोहोर्‍याइ । यहाँ त दुई अधिकार दुई पटक भट्याउँदा एउटै कुरा चार बार भट्याइयो ।
 

'अनुसूचि ८ स्थानीय तह एकल अधिकारःभूमि कर(मालपोत)
अनुसूचि ८ स्थानीय तह एकल अधिकारःमालपोतसङ्कलन'
दुई दुई पल्ट भट्यायो,मालपोत लगाउने एउटा कर,मालपोत सङ्कलन अर्को कर । मालपोत भूकर,मालपोत सङ्कलन कर ।

'अनुसूचि ५ संघ एकल अधिकारः पर्यटन दस्तुर', 'अनुसूचि ६ प्रदेश एकल अधिकारः पर्यटन र कृषि आयमा कर', 'अनुसूचि ८ स्थानीय तह एकल अधिकारः पर्यटन शुल्क', 'अनुसूचि ९ तीनै तहको साझा अधिकार सूचिः पर्यटन शुल्क'
सम्झन सजिलो बनायोः'पडहोस्वा' 'पर्यटनशुल्क डबल होल स्वायर'अर्थात पर्यटन शुल्क तीनवटै तहमा एकल अधिकार पनि हो तीनवटैको साझा अधिकार पनि हो । एकल तीन,साझा तीनः तीन तियाँ नौं । एकल तीन,साझा तीनः तीन तियाँ नौ ।

संविधान पढ्दा त पाठक झसङ्ग भयोः एकल अधिकार भन्या चिज पनि दुईतिर तीनतिर चारतिर । जति पढ्यो उति पटक एकल अधिकारमा आउने ।
'अनुसूचि ६ प्रदेश एकल अधिकारःसवारी साधन कर
अनुसूचि ८ स्थानीय तह एकल अधिकारः स्थानीय कर(सवारी साधन कर)'
प्रदेशको बासिन्दा सम्झिएर पढ्दा प्रदेश एकल अधिकार, स्थानीय बासिन्दा सम्झिएर पढ्दा स्थानीय एकल अधिकार । जताबाट हेरेनी देखिने जे सम्झ्यो जहाँ सम्झ्यो भेटिनी । आखिर शिखरनाथले लेखेकै थिए, 'एउटाले घरमा लि लौ भनि दिए गाउँभरी काम दिने' ।

'अनुसूचि ६ प्रदेश एकल अधिकारःमनोरञ्जन कर
अनुसूचि ८ स्थानीय तह एकल अधिकारःमनोरञ्जन कर'
पढ्दै मनोरञ्जन, तासको जोकर जस्तो तिर्कीमा लगाए तिर्की चौकीमा लगाए चौकी । तासको मनोरञ्जन सम्झने वित्तिक्कै मोतिरामको कविता सम्झ्योः चौका चाटि दिन्या बडा सहजमा पञ्जा पछारी दिन्या । तिया हरिलिन्या बडा सहजमा छक्का छकाइ दिन्या ।।

हुन त जुवा खेल्न कानूनले नै मनाही गरेको थियो, धनीमानीको क्यास्किनोमा बाहेक । क्यास्किनोमा चाँही खेल्न मात्र होइन यहाँ खेलाइन्छ भनि विज्ञापन नै गर्न पाइन्छ ।
विज्ञापन भने पछि फेरी संविधानमा आँखा लगायोः
'अनुसूचि ६ प्रदेश एकल अधिकारःविज्ञापन कर
अनुसूचि ८ स्थानीय तह एकल अधिकारःविज्ञापन कर'
ए बाबा,एक अधिकार त जता गए पनि पाइन्छ । हुन त ठीकै पनि हो । प्रदेशको एकल अधिकार प्रदेशकै सूचिमा छ संघको संघमै छ । संघको एकल अधिकार स्थानीयको एकल सूचिमा राख्द्या भए पो गल्ति त ।

'कामो नष्टः तनु वलि दितीसूतो नित्यम् पशु कामगो । नेतास्ते तुलयाभी भो रघुपते कस्योपमा दियते'संसारमा सबैभन्दा सुन्दर पुरुष कामदेव,त्यति सुन्दर मान्छेको चाँही नष्टः तनु अर्थात सरिर नै छैन । अरुको लुट्ने लुटेरा जन्माउने दितीको सन्तानमा वलि चै आजसम्मकै महादानी । जे चितायो उही पुर्‍याइ दिने कामधेनु चाँही पशु । यस्तो गर्न सक्ने नेतालाई के उपमा दिनु खै । गाउँमा बाउले घोकाएको नीति श्र्लोक पनि सस्मरण गर्‍यो ।

पुस्तक आफै पल्टन शुरु गर्‍यो ।
पर्लक्क धारा ६० पल्टियो,लेखिएको रहेछः प्रदेश मातहतको स्थानीय तह । पहिला संविधान पढ्दा त संघ,प्रदेश र स्थानीय तह कसैको कोही अन्तर्गत मातहत मुनी तल मुन्तिर हुदैनन भनेर । यहाँ त नडाराइ नबिराइ लेखिएछः मातहतका स्थानीय तह ।

पुस्तकका पाना आफै पल्टदै छन् । धारा ९६ देखियोः उपप्रधान मन्त्री,मन्त्री,राज्यमन्त्री,सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने । प्रधानमन्त्री प्रतिनिधीसभाकै हुने राष्ट्रिय सभाको नहुने । यो धाराले प्रतिनिधी सभाका सदस्य मन्त्रीलाई राष्ट्रिय सभाको बैठक वा त्यसका समितिका बैठकमा भाग लिन पुरा पुरा अधिकार दियो । प्रधानमन्त्री चाँही राष्ट्रिय सभा जान नै नपाउने र भन्या ।

पुस्तकका पाना पल्टदै छन् पल्टदै छन् अनुसूचि ६ प्रदेश अधिकार सूचिकोघरजग्गा रजिस्ट्रेसन शुल्कमा पुगेर टक्क अडियो, मानौं राष्ट्रियता प्रवर्धन गर्न गृह पञ्चायत मन्त्रालयले त्रिशुलीका ढुङ्गामा राष्ट्रिय झण्डाको रङ्ग लगाएर पाना थिच्न पठाउको होस् ।
एकातिरको पाना पो अडियो अर्कातिर शरद ऋतुको सर्सर्ति मन्द वायु प्रवाहले अनुसूचि ८ देखाइ दियो, स्थानीय तह एकल अधिकार सूचि लेखिएको थियोःस्थानीय कर(घरजग्गा रजिस्ट्रेसन शुल्क)स्थानीय तहले मात्र लगाउने एकल अधिकार भएको कर हो । यो कर अरु कसैले लगाएमा त्यो गैरसम्बैधानिक, गैर राष्ट्रवादी, गैरकानूनी, गैरगणतान्त्रिक, गैरसंघियतावादी, गैरधर्मनिरपेक्षावादी, गैरनेपाली हुनेछ ।

***
ड्याम्म पिठिउँमा लौराको जोड पर्‍यो, कान पनि सन्न्न्न्न गर्‍यो ।
भाङ्ग खाएर ठूल्ठूलो स्वरले अण्ट न सण्टसङ्ग मनपरी तरीकाले संविधान पढ्दा टोलभरीका अनलाइन पढ्ने विद्यार्थीलाई हुनसम्म हल्ला भएछ र माइतीघरमा दुई जना कुर्न गएका ५० प्रहरीलाई खबर पुगेछ । प्रहरी टोली घरमा आएर हेर्दा त हल्ला गर्दै संविधान पढिरहेको भाङ्गेको छेउमै भाङ्गको खान बाँकी  धुलोको सानो पोको बाँकी नै रहेछ सवुत । मानव अधिकारबादी तरीकाले दश आठ पटक बर्सिए पछिको लौरोको स्वर रहेछ त्यो ।

भाङ्ग खाएर संविधान पढ्नु गैर कानूनी काम हो ।
 

Social Links