विदेशी लगानी निरुत्साहित गर्ने ऐन

सधैं झै कलेज हानियो । कक्षाको अन्तिम बेञ्च जिन्दावाद । 
आज कक्षामा विदेशी लगानीका नेपालमा अवसर र कानूनी प्रत्याभूतिका बारेमा पढाइ शुरु भयो ।
नेपाल पृथ्वीको एक त्यस्तो अदभूत् हो जहाँ एक घण्टाको यात्रामा उच्च हिमालदेखि मध्य पहाड र समथल तराई यात्रा हुन्छ । सप्तरीको हपहपी गर्मीबाट सुन्दर सेता हिमालको असीम दृष्यावलोकन हुन्छ । नारायणगढको कृष्णा पुलबाट सेता हिमाल राखेर सेल्फी हान्न मिल्दछ । नगरेर मात्र हो नत्र तराईका फलफूलको प्राकृतिक शित भण्डार एक घण्टामा पुगिने हिमालमा गर्न सकिन्छ, न बिजुलीको आवश्यकता न भण्डार घरको ।
लगानीका लागि नेपाल स्वर्ग हो भनि मलाई सिकाइएको थियो । नेपालको भौगोलिक विविधता, सरल र परिश्रमी तर न्युनवेतनमा काम गर्न पनि खुशी हुने कामदार, ससाना आकारका सरकारी कार्यालय । विदेशी लगानीका भोका सरकारी नीति । यी सबै नेपालमा विदेशी लगानीका लागि सकारात्मक आधार छदैथिए । कक्षामा पुग्दा उत्साहित थिएँ ।  
"विदेशी लगानीको कम्पनीले विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐन अनुसार", लगानी सरको कक्षा शुरु भयो ।
कक्षामा जसले जे पढाउँछ उसको नाम पढाउने विषय राख्ने हाम्रो चलन नै छ, आखिर सरको वास्तविक नाम परीक्षामा सोध्ने पनि हैन, कक्षा सकिए पछि सरसङ्ग काम पनि छैन भने किन वास्तविक नाम सोधेर जानेर कण्ठ गरेर बस्ने?

"शेयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्ने, कुरो उद्नु ओ" कक्षामा लगानी सरको निरन्तर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण पुराण चलिरहेको छ, "दफा १९" ।
लगानी सरको कला पनि अजीवै छ, आवश्यकता अनुसार शव्दभित्रका अक्षर मात्र होइन अक्षरको आधा भागको उच्चारण पनि मिलाइ मिलाइ गर्ने । श र स बोलेको प्रष्ट बुझिन्छ, य अक्षर सुन्न जानेकै लगानी सरबाट हो । पक्का पनि हाम्रा लगानी सरले नरपति जयाचर्या स्वरोदयको विज्ञता लिएका होलान ।

"उपदफा (१)", लगानी सरको स्वरोदय चलिरहेको छ, चलिरहेको छ ।  "विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ति, जायजेथा वा शेयर वा अन्य कुनै प्रकारको वित्तीय उपकरणको नेपालभित्र वा बाहिर शेयर बिक्री वा हक हस्तान्तरण वा अन्य कुनै प्रकारले स्वामित्व वा निहित स्वामित्वको संरचनामा परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिनभित्र तत्सम्बन्धी प्रमाण कागजात सहित सोको जानकारी त्यस्तो लगानी गर्न अनुमति दिने निकायमा दिई सोको तोकिए बमोजिम अभिलेखन गराउनु पर्नेछ।"
लगानी सरको जन्मकालले जहाँ पुग्नु पर्ने हो त्यसको लाखौं भागको एक भागमा पनि पुग्न दिएको छैन । लगानी सर त्रेता युगमा जन्मेका भए गुरु परशुराम यिनै हुन्थे । यी गुरु परशुराम भएका भए म चाँही या त देवब्रत हुन्थे नभए दानवीर कर्ण त शेष हात लाग्यो मै आइपुग्थ्यो । के गर्नु लगानी सर परे २१ औं शताव्दीका, गुरु पनि भनिएनन् । मैले अलि सम्मान गर्ने हुनाले लगानी सर भन्या हुँ नत्र अरु त ल सर भन्छन् ।

"विदेशी लगानीबाट नेपालमा सिर्जित", लगानी सर भट्याउँदै हुनु हुन्छ, "विदेशीको पैसाबाट नेपालको सम्पति किनिएमा वा जायजेथा किनिएमा वा शेयर किनिएमा वा कम्पनी खोलिएमा वा जे सुकै गरेको भए पनि" ।

"त्यस्तो शेयर वा वित्तीय उपकरण बेचेमा – नेपालभित्र बेचेको भए पनि विदेशमै बेचेको भए पनि, पैसै नलिइ हक हस्तान्तरण गरेको भए पनि", लगानी सरले जुँगामा हल्का ताउ दिनु भो ।
"अत्रोत्पति", लगानी सर यस्तो व्यवस्था राख्नुको कारणको भूगर्भमा जाँन इच्छा गरेर सवर्णन व्याख्या प्रारम्भ गर्नु भयो ।
"युनिलिभर नेपाल लिमिटेड, डावर नेपाल, नेपाल ब्याट्री, कोका कोला, पेप्सी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, क्राउन प्लाजा, हुवाइ, …. । यी नेपालमा दर्ता भएका नेपाली कम्पनी ।"

"यिनका विदेशी लगानीकर्ताहरु कम्पनी भएमा ती विदेशी कम्पनी",
"यिनका विदेशी लगानीकर्ताहरु मान्छे भएमा ती विदेशी मान्छेहरु" ।

"यिनले नेपालमा कम्पनी दर्ता गरेकाले नेपालको कम्पनी विदेशी लगानीको कम्पनी भयो । यी विदेशी शेयरधनीहरु त्यो नेपाली कम्पनीका विदेशी शेयरधनी भए । कुरो उद्नु ओ?" नेपाली कम्पनी भए पनि त्यसका शेयरधनी विदेशी कम्पनी वा विदेशी मान्छे भएमा यो विदेशी लगानी तथा प्रविधी हस्तान्तरण कानून आकर्षित हुने कुरा सरलै थियो । लगानी सरले दोहोर्‍याइ दोहोर्‍याइ सुनाउनु भयो, सिकाउनु भयो, देखाउनु भयो ।

"हो त्यो विदेशी शेयरधनीले आफ्नो शेयर नेपालभित्र बेचेमा वा विदेशमै बेचेमा, बकस दिएमा वा अन्य तरीकाले हक हस्तान्रतण गरेमा नेपाली कम्पनीको स्वामित्वमा परिवर्तन हुन्छ ।" लगानी सरले पुनः दोहोर्‍याउनु भयो – "त्यो परिवर्तनलाई तीसदिनभित्र तत्सम्बन्धी प्रमाण कागजात सहित सोको जानकारी त्यस्तो लगानी गर्न अनुमति दिने निकायमा दिई सोको तोकिए बमोजिम अभिलेखन गराउनु पर्नेछ" ।

विदेशी शेयरधनीले नेपाली कम्पनीको शेयरमा रहेको अधिकार त्याग गर्दा त्यसको प्रमाण सम्लग्न राखी ३० दिनभित्र उद्योग विभाग वा लगानी बोर्डमा जानकारी दिनु पर्ने रहेछ । ठीकै पनि हो– शेयरधनीको परिवर्तन त जानकारी गराउनु पर्दछ नै ।

"तर कसरी?", देब्रे कुनामा बसेको ठूटे टिसर्ट लगाउने कसैले सोध्यो, "त्यो शेयर किन्ने नयाँ शेयरधनीले पुनः लगानी स्वीकृति लिनु पर्ने कि पूरानो लगानी स्वीकृतिलाई सोझै स्वीकार हुने?"

ठूटे टिसर्टको प्रश्न न लगानी सरले बुझ्नु भो न अरुले । कम्तिमा मैले त केही पनि बुझिन । शेयर बेचेमा वा अरुलाई दिएमा त्यो कुराको जानकारी विभागलाई दिनु पर्ने कुरा प्रष्टै छ, ऊ सोध्दैछ पुनः लगानीको । लगानी सर यसो दलिनतिर हेर्दै हुनुहुन्थ्यो अर्का कुनातिर कसैले केही सोध्न खोजेको देखियो ।

"अनि! त्यो शेयर किन्नेले विदेशी मुद्रा नेपाल ल्याएर पूरानो शेयरधनीलाई दिनु पर्ने की सीधै विदेशमै भुक्तानी गर्न पाइने हो सर?", दायाँकुनाको रातो क्याप लगाउनेले सोधिन "नेपालमा पैसा ल्याउने भए त्यो पैसा कसको बैंक खातामा राख्ने हो नी फेरी?" रातो क्यापेले प्रश्नमाथि प्रश्न थपिन ।

कुनै विदेशीले नेपाली बैंकमा खाता खोल्न स्थायी लेखा नम्बर चाहिने, स्थायी लेखा नम्बर लिन मागे जति धरौटी राख्नु पर्ने, अनि धरौटीको पैसा ल्याउन बैंक खाता र विदेशबाट पैसा ल्याउन स्वीकृति दुवै चाहिने कुरामा रातो क्यापेले पहिल्यै पढिसकेकी थिइन ।
उनी त अझै सोध्ने मुडमा थिइन, त्यै बेला लगानी सरलाई खोकी लाग्यो ।
यो खोकी भन्ने चिज पनि गजवै छ । जुनबेला अप्ठेरो पर्दछ त्यहीबेला लहरे खोकी बन्दिन्छ ।

***

"नेपाली कम्पनीको प्रत्यक्ष शेयरधनीको परिवर्तन मात्र होइन, निहित स्वामित्वधारीको परिवर्तन पनि अभिलेख गराउनु पर्दछ", लगानी सरले विषयलाई बढाउनु भयो ।

"उदाहरणका लागि, युनिलिभर पिएलसीको सहायक कम्पनी हिन्दुस्थान लिभर लिमिटेडमा ५१.४८ प्रतिशत शेयर रहेको छ । हिन्दुस्थान लिभरको नेपाल लिभरमा ८० प्रतिशत शेयर लगानी रहेको छ । हिन्दुस्थान लिभरमा युनिलिभर ओभरहेड होल्डिङ्ग विभिको ०.८७ प्रतिशत र लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डियाको ३.२४ प्रतिशत शेयर रहेको थियो ।"

"नेपाल लिभरका लागि हिन्दुस्थान लिभरको लगानी प्रत्यक्ष लगानी हो माथि कुरा गरेको । नेपाल लिभरका लागि युनिलिभर पिएलसी, युनिलिभर ओभरहेड होल्डिङ्ग विभि वा लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डिया चाँही निहित स्वामित्व भएका शेयरधनी हुन् । "

"नेपाली कम्पनीको शेयरधनी विदेशी कम्पनी भएमा त्यो विदेशी कम्पनीको शेयरधनी चाँही निहित स्वामित्वधारी, उध्नु ओ?"

"त्यो निहित स्वामित्वधारीको पनि शेयरधनी अर्को कम्पनी भएमा नी सर?" रातो क्यापेले रातै मुख लगाएर सोधी ।

"कम्पनीको शेयरधनी अर्को कम्पनी, त्यो अर्को कम्पनीको शेयरधनी झन अर्को । जति तह माथि भए पनि निहित स्वामित्वधारी । मान्छेसम्म पुग्नु पर्दछ यो तरीका अनुसार" लगानी सरले प्रष्ट्याउनु भो ।

"अनि ती सबै निहित्वधारीले आफ्नो शेयर बेचेमा तीस दिनभित्र नेपालको सरकारी निकायमा पनि अभिलेख गराउनु पर्ने हो सर?", ठूटे टिसर्टले मुख फोर्‍यो ।

"अनि के त? मैले यसबेलासम्म के भनेँ त? पुराण सुनाएँ?" लगानी सरले ठूटेसङ्गको रीस पोख्नु भो ।

 "नेपाल लिभरको सन्दर्भमा", ठूटे टिसर्ट पनि कम देखिएन, "मूख्य कम्पनी हिन्दुस्थान लिभरको शेयरधनी लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डियाले ०.६५ प्रतिशत शेयर बेचेछ । यसको अर्थ त निहित स्वामित्वधारी लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डियाको त्यो शेयर परिवर्तन पनि नेपालमा अभिलेख गर्नु पर्ने भन्नु भएको हो? दफा १९ को उपदफा (१) अनुसार?"

"अझ मुम्बइको चम्बुर बस्ने चता सिंले लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डियाको २० कित्ता शेयर बेचेर स्कुटि किन्या होला । ऊ पनि त निहित स्वामित्वधारी नै भयो नी । चता सिंको शेयर विक्री पनि नेपालमा अभिलेख गर्नु पर्ने र भन्या?", रातो क्यापे पुनः कराइ ।

रातो क्यापे र ठूंटे टिसर्टको ग्रह नमिलेको हो की बढ्ता मिलेको हो, एकले बोल्ने वित्तिक्कै अर्काले बोल्नै पर्ने सोध्नै पर्ने ।

"लन्दनको फ्रयाङ्कलिनले युनिलिभरको १०० कित्ता शेयर लन्दन एक्सचेन्जमा बेचेर गाडी किन्यो होला", ठूंटे टिसर्टले प्रश्न थप्न छोडेन, "त्यो फ्रयाङ्कलिन पनि त निहित स्वामित्वधारी भयो नी । उसको पनि शेयर लगत नेपालले राख्ने भन्नु भएको हो सर?"

"शेयर हस्तान्तरणको तीस दिनभित्र निहित स्वामित्वधारीको शेयर लगत नेपालमा अद्यावधिक गरिरहने हो भने", रातो क्यापेले थपि, "उता दिन दिनै कारोवार भइरहला । शेयर बजार खुलिरहला । अनि हरेक दिन कुनै दिनको तीसौं दिन त होला नी? हरेक दिन अघिल्लो तीसौं दिनको शेयर लगत बनाइरहनु पर्ला । हरेक दिन यी विदेशी कम्पनीले शेयर लगत अद्यावधिक गरे जस्तो त लाग्दैन । हैन के यी सबै विदेशी लगानीका कम्पनी नेपालमा अवैध काम गरिरहेका छन् त?"

स्वामित्व हस्तान्तरण र निहित स्वामित्व हस्तान्तरणका प्रश्न थपिदै थिए । लगानी गुरुले हातको चक ताकेर फाल्दै भन्नु भो, "ए भवनाथ! कक्षामा सुत्न लाज लाग्दैन? रातभरी कमिक्स पढ्छस् की युट्युवमा एक्सन फिल्म हेर्छस्?"

लगानी सरले हानेको चकको टुक्रोले आँखाको गेडी नै भेटेछ । म मुर्छा परेछु । साथीहरुले युनिफर्ममै अस्पताल पुर्‍याएछन्, लगानी सरले आफ्नै गाडीमा राखेर लगेको रे । एक महिनाको उपचार पछि चश्मा लगाएर अलि अलि देख्न थालेँ ।

मेरो आनन्ददायी सपना अनुसार यी विदेशी कम्पनीका काम अवैध गैरकानूनी नै हुन की दफा १९ ले विदेशी लगानी नेपाल ल्याउने वास्तविक सहि व्यवस्था गरेको हो, कक्षामा निदाएकाले मैले मेसो पाउन सकिन । कक्षामा निदाएर एक महिना उपचारमा बसेको र उपचारको कारक लगानी सरको चकको तोड परेकाले उनै लगानी सरलाई भेटेर सोध्न पनि मेरो अभिमानले दिएन । आफैं पढ्न प्रयास गरेँ, उत्तर उही सपनाको छेउमै पुग्दछ । सपनाको छेउमा पुग्ने वित्तिक्कै आँखा चसक्क हुन्छ मुटु फुल्छ । साथीहरुसङ्ग पनि लाज लागेर आउँछ ।  

कक्षामा सुत्नु स्वास्थ्यको लागि त हानीकारक पो रहेछ ।
 

Social Links