सहकारीले दोस्रो किस्ता बापतको रकम कसरी गणना गर्ने ?

... by Shesh Mani Dahal in Nepal Tax
 
आयकर ऐन, २०५८ को दफा ९४ बमोजिम हरेक करदाताले चालु आ.व.को आयमा लाग्ने आयकर देहाय बमोजिम दाखिला गर्नुपर्ने व्यबस्था गरेको छ ।

दाखिला गर्नुपर्ने मिति                  दाखिला गर्नुपर्ने रकम
पुस मसान्त सम्म                       अनुमानित करको चालिस प्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम
चैत्र मसान्त सम्म                       अनुमानित करको सत्तरी प्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम
असार मसान्त सम्म                   अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम

सहकारी संस्थाहरुले विगतबाटै अग्रिम करको किस्ता माथि उल्लेख गरे बमोजिम बुझाउदै आएका छन् । तर, हालसालै केहि नेपाल ऐन संसोधन गर्ने ऐन मार्फत आयकर ऐनमा संसोधन गरी सहकारी संस्थालाई लाग्ने करको दर घटाईएकोले के कसरी किस्ता गणना गर्ने भन्ने द्विविधा रहेको पाईयो । सो द्विविधाको उदाहरण मार्फत निराकरण गर्ने प्रयास यस लेखमा गरीएको छ ।
पछिल्लो संसोधन अनुसार, बचत तथा ऋण सहकारी संस्थालाई लाग्ने करको दरमा देहाय बमोजिम छुट हुने व्यबस्था आयकर ऐनमा गरीएको छ ।
क) यदि बचत तथा ऋण सहकारी संस्था महानगरपालिका तथा उपमहानगरपालिकामा सञ्चालित भएमा लाग्ने करको दरमा पचास प्रतिशत छुट हुने ।
ख) यदि बचत तथा ऋण सहकारी संस्था नगरपालिका क्षेत्रमा सञ्चालित भएमा लाग्ने करको दरमा पचहत्तर प्रतिशत छुट हुने ।

आयकर ऐन अनुसार कृषि सहकारी र गाँउपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारी संस्थालाई लाग्ने करको दर बीस प्रतिशत रहेको छ । यस प्रकार हेर्दा बचत तथा ऋण सहकारी संस्थालाई देहाय बमोजिम कर लाग्ने देखिन्छ ।
क) महानगरपालिका तथा उपमहानगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई १० प्रतिशत
ख) नगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई ५ प्रतिशत
ग) गाँउपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई कर नलाग्ने
घ) जहासुकै सञ्चालित कृषि सहकारीलाई कर नलाग्ने
ङ) बहुउद्देश्यीय सहकारी संस्था, शैक्षिक, स्वास्थ्य लगायतका सहकारीलाई २० प्रतिशत

दोस्रो किस्ताको करको गणना कसरी गर्ने ?
माथि उल्लेख गरे बमोजिम यहि चैत्र मसान्त भित्र आ.व. २०७५।७६ को आयमा लाग्ने करको सत्तरी प्रतिशत रकम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनु पर्दछ । सो करको गणनालाई तलको उदाहरणबाट स्पष्ट पार्न प्रयास गरीएको छ ।

उदाहरण १:
मानौ काठमाण्डौ महानगरपालिकामा सञ्चालित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७५।७६ मा कुल एक करोड रुपैया नाफा गर्ने अनुमान गरेको छ । यो अनुमान अहिलेको अवस्था विश्लेषण गरेर गर्नुपर्दछ । महानगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था भएकाले यस संस्थालाई नाफामा १० प्रतिशत कर लाग्ने भयो । यसरी हिसाव गर्दा सो संस्थाको आ.व. २०७५।७६ को कुल अनुमानित कर दायित्व रु. १० लाख भयो ।
संस्थाले बैंकमा रकम राख्दा प्राप्त गरेको व्याजमा हालसम्म बैंकले काटेर जम्मा गरेको रकम २ लाख रहेछ । त्यस्तै संस्थाले पौष मसान्तमा अग्रिम कर बापत भनि रु. ८ लाख रुपैया (१ करोडको २० प्रतिशतको ४० प्रतिशतले हुने रकम) जम्मा गरेको रहेछ ।
अव, संस्थाले चैत्र मसान्त सम्म जम्मा गर्नु कुल करको रकम रु. ७ लाख (१० लाखको ७० प्रतिशत)
संस्थाले हालसम्म जम्मा गरेको रकम रु. १० लाख (२ लाख र ८ लाख)
संस्थाले चैत्र मसान्त सम्म आवश्यकता भन्दा बढी रकम जम्मा गरीसकेकाले थप रकम जम्मा गर्नुनपर्ने ।

उदाहरण २:
मानौ काठमाण्डौ महानगरपालिकामा सञ्चालित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७५।७६ मा कुल एक करोड रुपैया नाफा गर्ने अनुमान गरेको छ । यो अनुमान अहिलेको अवस्था विश्लेषण गरेर गर्नुपर्दछ । महानगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्था भएकाले यस संस्थालाई नाफामा १० प्रतिशत कर लाग्ने भयो । यसरी हिसाव गर्दा सो संस्थाको आ.व. २०७५।७६ को कुल अनुमानित कर दायित्व रु. १० लाख भयो ।
संस्थाले बैंकमा रकम राख्दा प्राप्त गरेको व्याजमा हालसम्म बैंकले काटेर जम्मा गरेको रकम २ लाख रहेछ । त्यस्तै संस्थाले पौष मसान्तमा अग्रिम कर बापत भनि मात्र रु. ३ लाख रुपैया मात्र जम्मा गरेको रहेछ ।
अव, संस्थाले चैत्र मसान्त सम्म जम्मा गर्नु कुल करको रकम रु. ७ लाख (१० लाखको ७० प्रतिशत)
संस्थाले हालसम्म जम्मा गरेको रकम रु. ५ लाख (२ लाख र ३ लाख)
संस्थाले चैत्र मसान्त सम्म जम्मा गर्नुपर्ने किस्ता रकम रु. २ लाख 

किस्ता रकम जम्मा नगरेमा के हुन्छ ?
संस्थाले किस्ता रकम जम्मा नगरेमा जम्मा गर्नुपर्ने रकमबाट जम्मा गरेको रकम घटाई बाँकी रकममा बार्षिक १५ प्रतिशतको दरले व्याज लाग्दछ ।

Shesh Mani Dahal

Shesh Mani Shesh Mani

About me

Shesh is an Advocate and Chartered Accountant in practice, and an emerging Nepal tax consultant and trainer. He conceptualised the development of TAXpert, Nepal's first and leading tax application that provides tax information and resources for the benefit of small and medium tax payers. 

Social Links